काठमाडौं । नेपाली रेस्लर भगवती खड्का (युनिका) ले रेस्लिङ महाभिडन्तमा सोमबार अमेरिकी रेस्लरलाई हराएकी छन् ।
भक्तपुरको सल्लाघारीमा भएको रोमाञ्चक भिडन्तमा भगवतीले अमेरिकाकी सादिकालाई हराइन् ।
फागुको अवसरमा आयोजित रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष रेस्लर अभिराज सिंहविरुद्ध जित पाइन् ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित रेस्लिङमा नेपाल ब्रोले पाकिस्तानका शेर खानमाथि जित पाए । रिङसम्म पुग्न नेपाल ब्रोले कार र खानले मोटरसाइकल प्रयोग गरेका थिए । नेपालका कृष्ण मगर (सिन्धुपाल्चोक टाइगर) ले पाकिस्तानका अली खानलाई हराए ।
चार स्पर्धामा प्रतिस्पर्धा भएको थियो । नेपालसहित भारत, पाकिस्तान र अमेरिकाका रेस्लर सहभागी प्रतियोगितामा नेपाली रेस्लर हिक्मत थपलियाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । नेपालमा रेस्लिङ खेलको विकास र प्रवर्द्धनका लागि २०७१ सालमा स्थापित फाउन्डेसनले पहिलोपल्ट भक्तपुरमा रेस्लिङ भिडन्त आयोजना गरेको हो ।