रौतहट । पेटमा सिसाको बोतल देखिएपछि शल्यक्रिया गरिएका रौतहटको गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको सोमबार साँझ होस खुलेको छ ।

होसमा आएलगत्तै उहाँलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ ।

हाल उहाँ चितवनस्थित पुरानो मेडिकल कलेजको आईसीयूमा चिकित्सकको निगरानीमै हुनुहुन्छ । पेट दुखेपछि उपचारका लागि चन्द्रपुर अस्पताल लगिएका नुर्सादको एक्सरे गर्दा पेटमा सिसाको बोतल देखिएपछि थप उपचारका लागि उहाँलाई चितवनको पुरानो मेडिकल कलेज लगिएको थियो ।

चितवनस्थित पुरानो मेडिकल कलेजका डा. नारायण बेलबासे र एनेसथेसिया डा. राजेश यादवसहितको टोलीले पेटको शल्यक्रिया गरेर सिसाको बोतल निकालेको थियो । शल्यक्रियाको ४ घण्टापछि सोमबार साँझ मात्र नुर्सादको होस आएको डा. बेलबासेले बताउनुभयो ।

‘उहाँ होसमा आइसक्नुभएको छ । अझै खतरामुक्त भइसकेको अवस्था छैन, उहाँले भन्नुभयो, ‘मलद्वारबाट सिसी पसाएको हुनाले ठूलो आन्द्रामा समेत प्वाल परेको पाइएको छ । उहाँ स्वास्थ्य निगरानीमै हुनुहुन्छ ।’ मलद्वारमा सिसी पसाउखै गर्दा भित्र नै छिरेको चिकित्सकसँग उहाँले खुलाउनुभएको छ ।

नुर्सादको दिसा पेटभरि फैलिसकेकाले अवस्था अझै जटिल नै रहेको डा. बेलबासेले बताउनुभयो । मेडिकल कलेजका अनुसार उहाँलाई अहिले भेन्टिलेटरबाट पोस्ट आईसीयूमा सारिएको छ । आफ्नै साथीले बोतल पेटभित्र पसाइदिएपछि अत्यधिक पेट दुखेर उहाँलाई उपचारका लागि चन्द्रपुर अस्पताल लगिएको थियो । त्यहाँ पेटको एक्सरे गरेर हेर्दा मात्रै पेटमा सिसाको बोतल रहेको देखिएको थियो ।

इलाका प्रहरी कार्यालयले भने सिसाको बोतल पेटभित्र पसाउने व्यक्तिको पहिचान हुन नसकेको जनाएको छ । प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । नुर्साद होसमा आएपछि नै उहाँसँग प्रहरीले बयान लिने प्रयास गरेको जनाएको छ । चिकित्सकका अनुसार उहाँ विस्तारै बोल्नसक्ने पनि हुनुभएको छ ।

सम्बन्धित खबरहरु