काठमाडौं । संयुक्त राज्य अमेरिकामा उडिरहेको विमानको ढोका बिगारिदिएको र चालकदलका सदस्यमाथि धारिलो वस्तुले आक्रमण गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेको अधिकारीहरूले बताएका छन्।

लस एन्जलिसबाट बोस्टनका लागि उडेको यूनाइटेड एअरलाइन्सको विमानमा उक्त घटना भएको थियो।

विमानभित्र हिंसात्मक गतिविधि गरेको आरोप लागेका व्यक्ति ३३ वर्षीय फ्रान्सिस्को सेभेरो टोरेस भएको बताइएको छ।

उनले विमानको ढोका खुस्काइदिएको थाहा पाएपछि विमानभित्र आतङ्क फैलिएको थियो। त्यसपछि उनले भाँचिएको चम्चाले विमानका एक कर्मचारीमाथि आक्रमण गर्न खोजेको बताइएको छ।

बोस्टनस्थित लोगन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानले अवतरण गरेपछि उनलाई आइतवार पक्राउ गरियो।

अभियोगपत्रका अनुसार विमानको एउटा ढोका कसैले "खुस्काइदिएको" सूचना चालकदलले ककपिटभित्र पाउँदा यूनाइटेड एअरलाइन्सको उक्त विमान अवतरण गर्न एक घण्टाभन्दा कम समय बाँकी थियो।

विमानका एक कर्मचारीलाई त्यसबारे बुझ्न आह्राइयो। उनले बन्द गरिएको ढोकाको 'लक ह्यान्डल'को ठाउँ सरेको र त्यसको आपत्कालीन स्लाइड खुस्किएको पत्ता लगाए।

उक्त स्थानमा टोरेस घुमिरहेको हुनाले विमानका कार्मचारीहरूले उनले नै ह्यान्डल बिगारेको शङ्का गरे।

एक कर्मचारीले केरकार गर्न खोज्दा टोरेसले त्यो ढोका भएको ठाउँमा क्यामरा छ र भनेर प्रतिप्रश्न गरेको बुझिएको छ।

अमेरिकाको न्याय मन्त्रालयले तयार पारेको अभियोगपत्रको सारांशका अनुसार त्यसपछि ती कर्मचारीले विमानका क्याप्टेनलाई "ती यात्रुका कारण विमानलाई खतरा भएको र क्याप्टेनले यथासम्भव चाँडै विमान अवतरण गर्नुपर्ने" बताएका थिए।

त्यसपछि टोरेस आफ्नो सीटबाट उठेर विमानका कर्मचारीहरू भएको ठाउँतिर गए।

"उनले धातुको भाँचिएको एउटा चम्चा बोकेर झम्टे अनि एक कर्मचारीलाई गर्दनमा तीन पटक प्रहार गरे," उक्त सारांशमा भनिएको छ।

विमानका कर्मचारीमाथि आक्रमण गरेपछि अरू यात्रुले टोरेसलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए। बीबीसी नेपाली

सम्बन्धित खबरहरु