काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचनमा महिलाहरुले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था ल्याउनुपर्ने बताउनुभएको छ ।

मंगलबार राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा महिलाहरु चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय तह, प्रदेशसभा र संघीय संसद्‍ सबै ठाउँमा ५० प्रतिशत उम्मेदवार पुरुष र ५० प्रतिशत उम्मेदवार महिला हुनुपर्ने बताउनुभयो । नेपालमा पुरुषको भन्दा महिलाहरुको जनसंख्या बढी रहेको उल्लेख गर्दै उहाँले महिलाहरु ३३ प्रतिशत प्रतिनिधित्वमा मात्रै सिमित हुन नहुने बताउनुभयो ।

उपाध्यक्ष अर्यालले राज्यका निकायहरुका प्रमुख पदहरुमा महिलाको प्रतिनिधित्व पनि कम भएको भन्दै प्रमुख पदहरुमा महिला प्रतिनिधित्व गराउन ध्यान दिनुपर्ने सुझाव दिनुभएको थियो । उहाँले महिलाहरुलाई समानुपातिकबाट प्रतिनिधित्व गराउँदा उसको योगदान र इतिहासलाई समेत अवमूल्यन गरेर आरोप लगाउने गरिएको बताउनुभयो ।

साथै प्रत्यक्षतर्फ महिलाहरुलाई ४० प्रतिशत उम्मेदवार बनाउँदा आर्थिक चलखेलका घटना हुने र निर्वाचन प्रणालीमा शुद्धिकरण समेत हुने तर्क गर्नुभयो ।

उपाध्यक्ष अर्यालले भन्नुभयो, ‘हामी समानुपातिक कोटाबाट ३३ प्रतिशत पुगिराखेका छौं । नगरपालिका, महानगरपालिका, उपमहानगरपालिका, गाउँपालिकाहरुमा हेर्ने हो भने उप मात्रै हामी धेरै भइराखेको अवस्था छ ।

हामी प्रमुख पदहरुमा छैनौं । अबको हाम्रो मुख्य लडाइँको विषय यी प्रमुख ठाउँहरुमा पुग्ने विषयमा हुनुपर्छ । र सार्थक पदाधिकारी बन्ने अवस्थामा हामी पुग्नुपर्छ । त्यसको लागि अबको माग हाम्रो । हाम्रो लडाइँ सकिएको छैन । यो ३३ प्रतिशत मात्र होइन, नेपालको जनसंख्या पुरुषभन्दा महिलाको धेरै छ ।

धेरै भइकन पनि किन हामी ३३ मा मात्रै सिमित हुने । हामी ५० प्रतिशतमै जानुपर्छ । समानुपातिक होइन अब प्रत्यक्ष चुनावमा महिलाहरुको ५० प्रतिशत, पुरुषहरु ५० प्रतिशत लड्ने व्यवस्था ल्याउनुपर्छ । गाउँपालिकाको अध्यक्षमा पनि ५० प्रतिशत महिलाहरु लडाउनुपर्‍यो ।

यसो गर्दा निर्वाचनमा पनि शुद्धिकरण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । यस्तै उहाँले राजनीतिक पार्टीको शीर्ष तहमा पनि महिलाहरुलाई पुर्‍याउनुपर्ने सुझाव दिनुभयो । हालसम्म राजनीतिक दलको निर्णायक तहमा महिलाहरुको भूमिका हुन नसकेको भन्दै उहाँले अब त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

सम्बन्धित खबरहरु