काठमाडौं । पहिलो पटक बाँकेको कोहलपुरमा गोलभेंडा दलेर होली खेलिएको छ ।
मंगलबार गोलभेंडाहरूको रंगसँगै ‘गोलभेंडा उत्सव नेपाल–२०२३’ ‘ला टोमाटिनो फेस्टिभल’ आयोजना गरेर होली खेलिएको हो ।
कोहलपुरलाई पर्यटकीय गतिविधिसँग जोड्ने उद्देश्यले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले गोलभेंडा उत्सव गरेको अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिनुभयो ।
आयोजनाबारे प्रकाश पारेका नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले यसखाले आयोजनाले कोहलपुरलाई एकातिर पर्यटक आकर्षिक गर्न सहयोग पुर्याउने र अर्कोतिर किसानले आफ्ना उत्पादनको मूल्य पाउने विश्वास व्यक्त गर्नुभयो । ‘सेन्थेटिक रंगले पार्ने नकारात्मक प्रभावबाट पनि जोगिनका लागि पनि यो कार्यक्रम गरेका हौं,’ उहाँले जानकारी दिनुभयो ।
आयोजकले टोमाटिनो फेस्टिभलका लागि आवश्यक गोलभेंडा सिधै किसानबाट खरिद गरेका थिए । ‘सकेसम्म स्थानीय उत्पादनलाई हाम्रो जोड रहनेछ,’ कोहलपुर र वैजनाथमा किसानसँग समन्वय गरेर गोलभेंडा ल्याइएको हो ।