काठमाडौं । माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाले माओवादीहरू एक ठाउँमा आउनुपर्ने तर्क गरेका छन् ।
मिलेर आत्मसमीक्षा गर्दै अगाडि बढे बाँकी यात्रा जित्न सकिने तर्क उनको छ । मंगलबार सामाजिक सञ्जालमा एक स्टाटस राख्दै उनले भनेका छन, ‘माओवादीहरू एकाठाउँमा जुटौं, अलिधैरै आत्मसमीक्षा गरौं ! बस–बाँकी यात्रा पनि जितिन्छ ।’
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाईसीएल नेपाल इन्चार्ज सापकोटाको यो बयान प्रचण्ड पक्राउ पर्न सक्ने खतराबीच आएको हो । सो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ ।
अध्यक्ष प्रचण्ड २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा दिएको बयानका कारण विवादमा आएका हुन् । प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।