काठमाडौं । राष्ट्रपति निर्वाचनपछि नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाएर संबिधानको धारा ७६ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने नेपाली कांग्रेसको योजनाअनुसार सर्वोच्चमा रिट दर्ता गराइएको खुल्न आएको छ ।
यो रणनीति अहिले नै बनेको एक घटनाले समेत पुष्टि हुन्छ ।
किनभने, प्रचण्डलाई पक्राउ गरी कार्बाहीको मागसहित सर्वोच्च अदालतमा मुद्धा दर्ता गर्ने ज्ञानेन्द्र आरण नेपाली कांग्रेसका बरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको किचेन क्याविनेटका सदस्य भएको खुल्न आएको छ ।
उहाँ नेपाली कांग्रेस महासमिति सदस्य समेत हुनुहुन्छ । पौडेल राष्ट्रपति भएमा सचिवालयमा बसेर काम गर्ने रणनीतिमा उहाँ यो मुद्धा लिएर अदालत जानुभएको छ ।
रामेछाप नेपाली कांग्रेस प्रदेश (ख) को प्रदेश प्रतिनिधि एवं अधिवक्तासमेत रहनुभएका ज्ञानेन्द्र आरणको पौडेलसँग घनिष्ट सम्बन्ध रहेको पाइएको हो । आरण गत महाधिवेशनमा रामचन्द्र पौडेल र डा. शेखर कोइराला समूहमा हुनुहुन्थ्यो । सोही समूहबाट महासमिति सदस्य चयन हुनुभएको थियो ।
महाधिवेशन अगाडि आफ्नो समूहको सभापति उम्मेदवार बन्ने भन्ने बहसका बीच शेखर समूहका नेता रामचन्द्र नै हुनुहुन्थ्यो । तर आफूलाई सभापतिमा नछाडेपछि पौडेल सभापति शेरबहादुर देउवातिर लाग्नुभयो । पौडेल देउवातिर लागेपछि आरण पनि उतै लागेको रामेछाप कांग्रेसका नेताहरुले बताएका छन् ।
बागमती प्रदेश महाधिवेशन प्रतिनिधि आरण रामेछाप पुरानागाउँ निवासी हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट लैजाने प्रमुख निवेदक उहाँ नै हो । अर्का रिट निवेदक कल्याण बुढाथोकी पनि रामचन्द्र पौडेलकै निकट रहेको रामेछाप कांग्रेसका नेताहरु बताउँछन । आरणसहित ३३ वटा रिट सर्वोच्चमा प्रचण्डविरुद्ध दर्ता भएका छन ।
राष्ट्रपति निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाएर संविधानको धारा ७६ को उपधारा ३ अनुसार सवैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने नेपाली कांग्रेसको योजनाअनुसार सर्वोच्चमा रिट दर्ता गराइएको आशंकासमेत समाचार सुत्रहरुले गरेका छन् । यो योजनामा अहिले शेरबहादुर देउवापनि स्वयं संलग्न भएको दावी गरिएको छ ।