
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको उल्लेख गर्दै अध्यक्ष ओलीले उहाँको यस खालको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरूको लागि गर्वको विषय भएको बताउनुभयो ।
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुनु सामान्य विषय नभएको बताउनुभयो ।
‘आज महिला दिदीबहिनीहरूले गौरव गर्नुपर्छ कि विद्या भण्डारीजस्तो तपाईंहरूको आन्दोलनबाट हुर्किएर गएको महिला नेतृले, त्यस आन्दोलनको उपजले त्यहाँ पुगेको व्यक्तिले देशलाई ७ वर्षसम्म राष्ट्रप्रमुखको हैसियतमा सेवा गर्नुभयो,’ ओलीले भन्नुभयो,‘ अघिल्लो कार्यकालको उहाँको सफल, सही र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर दोस्रो पटक फेरि राष्ट्रपति बनाइएको हो।’
अध्यक्ष ओलीले महिलाहरू अब प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताउनुभयो । उहाँले विद्या भण्डारी एमालेको मूल राजनीतिमा आउँनसक्ने संकेत समेत गर्नुभयो ।