काठमाडौं । प्रहरीले अमेरिकाबाट नेपाल पठाइएको चिठीपत्रको खामभित्र गाजा भेटेको छ ।
एउटा पार्सलमा साढे ४ किलो र अर्को पार्सलमा २.४ किलो बरामद गरेको नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ ।
२१ फागुनमा अमेरिकाको लस एज्जलसबाट दुबई हुँदै काठमाडौं ल्याइएको चकलेट र बालबालिकाको खेलौना (चकलेट एण्ड चाइल्ड गेम आइटम) उल्लेख गरिएको पार्सलमा साढे ४ किलो गाजा भेटिएको ब्यूरोले जनाएको छ ।
उक्त पार्सल बुझ्न आउने भारत गुजरातका ३० वर्षका निमेश अशोकभाइ दयानी र सर्लाहीको हरिहरपुर नगरपालिका–३ का फैज आलम पक्राउ परेका ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।
प्रहरीले भारतीय नागरिक निमेशको साथबाट १ लाख ४० हजार भारु र सर्लाहीका फैज आलमको साथबाट ८० हजार नेपाली रुपैयाँ पनि बरामद गरेको छ ।
त्यस्तै अमेरिकाको क्यालिफोर्नियाबाट दुबई हुँदै आएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटम उल्लेख गरेको पार्सलमा पनि प्रहरीले २.४ किलोग्राम गाँजा भेटेको छ ।
उक्त पार्सल रिसिभ गर्ने व्यक्ति गोरखाको गण्डकी गाउँपालिका– ४ का २३ वर्षका रुपक अर्याललाई पक्राउ गरिएको ब्यूरोका एसपी जोशीले जानकारी दिनुभयो । यसको कनेक्शन कहाँसम्म छ भनेर खोजी गरिने प्रहरीले बताएको छ ।