काठमाडौं । बलिउड अभिनेत्री मनीषा कोइरालाले हरेक महिलाले आफूलाई पुरुषसरह सशक्त रहेको ठान्नुपर्ने बताएकी छन् ।

आफूसँग रहेको शक्तिको पहिचान र प्रयोग गरी सफलता प्राप्त गर्न सकिने उनको भनाइ छ ।

“मेरो आमाले मलाई सधैँ भन्नुहुन्थ्यो– आफूलाई कहिल्यै पनि कोहीभन्दा कम नठान्नु । मेरो जिन्दगीको सबैभन्दा पहिलो झड्का त्यही थियो,” अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बुधबार काठमाडौंमा होटेल नोम्याडले हिमानी ट्रस्टको सहयोगार्थ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मनीषाले भनिन्, “त्यसपछि मैले आफूलाई पुरुषसरह समान ठान्न थालेँ । त्यसले मलाई सकारात्मक सोचतर्फ अगाडि बढायो ।”

मनीषा बलिउडमा करिअर खोज्दै मुम्बई पुगेकी थिइन् । त्यहाँ सधैँ नायक केन्द्रमा हुन्थे । नायिकाभन्दा नायक सधैँ अगाडि हुन्थे । पारिश्रमिकको सवालमा होस् वा अरू कुरामा बलिउडमा हिरो सधैँ केन्द्रविन्दुमा हुन्थे ।

“त्यो देखेर म असहज महसुस गर्थेँ । तर, त्यो वातावरण परिवर्तन गर्न सक्दैन थिएँ । तर, म आफ्नो जग बलियो बनाउन सक्थेँ । राम्रो बनाउन सक्थेँ । त्यसैले मैले मेरो करिअरको जग बलियो बनाउन कडा संघर्ष गरेँ,” मनीषा भन्छिन्, “मिहिनेतले बलियो जग बनाएँ । आफ्नो काममा केन्द्रित भएँ । जसले गर्दा मैले राम्रो सफलता पाएँ भन्ने लाग्छ ।”

जिन्दगीको तेस्रो झड्का उनी आफूलाई लागेको क्यान्सरलाई लिन्छिन् । त्यो बेला मनीषालाई क्यान्सर लाग्यो, जुन समय उनी बलिउडमा आफ्नो सिने करिअरको ‘पिक’मा थिइन् ।

अमेरिकामा उनी क्यान्सर निदानको उपचार गराइरहेकी थिइन् । हरेक आइतबार महिला चिकित्सक उनको उपचारका लागि आउँथिन् । उनले महिला शक्तिका बारेमा मनीषालाई बुझाइन् ।

आफैँ गर्न सकिने कामको बारेमा बताइन् । र, मनीषालाई उनले दिएको अर्को सल्लाह थियो– अरूलाई गर्न सक्ने सहयोग । अरूले सुरु गरेको सामाजिक सेवाको अभियानमा योगदान गरेर पनि सहयोग गर्न सकिन्छ ।

हिमानी ट्रस्टले अहिले गरिरहेको सहयोग उल्लेखनीय रहेको मनीषा बताउँछिन् । हिमानी ट्रस्टको सहयोगी भावना र अभियानमा साथ दिनुपर्नेमा उनले जोड दिइन् ।

“आज अन्तर्राष्ट्रिय नारी दिवस । के तपाईं महिलाबिनाको दिनको कल्पना गर्न सक्नुहुन्छ ?,” मनीषाले प्रश्न गरिन् । जवाफ उनीसँगै छ, “हुँदैन ।”

त्यसैले वर्षमा एक दिन महिला दिवस होइन, हरेक दिन ‘सेलिब्रेट’ गर्न सक्नुपर्ने उनी बताउँछिन् । महिला दुर्गा, भगवती, काली, सरस्वतीको अंश भएको भन्दै मनीषा आफूलाई कमजोर नठान्न आग्रह गर्छिन् ।

“उहाँहरूजस्तै हामीले आफूलाई पावरफुल ठान्नुपर्छ,” उनी अगाडि थप्छिन्, “मनमा त्यही लिएर अगाडि बढ्नुपर्छ । जस्तोसुकै चुनौती भए पनि सफलता प्राप्त गर्न सकिन्छ । आफूसँग भएको शक्ति नै सफलताको कारण बन्छ ।” शक्ति आफैँले आर्जन गर्न सकिने उनको धारणा छ ।

सम्बन्धित खबरहरु