धनगढी । धनगढीमा रहेको सुदूरपश्चिम कलेज एकेडमी (एसपीए) का विद्यार्थीले विद्युतीय कार (ईभी) निर्माण गरी सार्वजनिक गर्नुभएको छ ।
कलेजका कक्षा १२ को विज्ञान संकायमा अध्ययनरत सागर खनालले उक्त कार बनाउनुभएको हो । उक्त कार बनाउन करिव ६ महिना लागेको उहाँले बताउनुभयो ।
३ लाखको लागतमा बनाएको उक्त कारलाई धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले एसपीए कलेजमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गर्नुभएको हो ।
सागर खनालले बनाएको विद्युतीय कार सार्वजनिक पछि धनगढी उपमहानगरका मेयर गोपाल हमाल चढेर यात्रा गर्नुभएको थियो ।
नगर प्रमुख मेयरले कारमा एक फन्को लगाएपछि प्रतिभाशाली विद्यार्थीको नयाँ आविष्कारमा धनगढी उप महानगरको साथ रहने बताउनुभयो ।
उक्त कार निर्माणको सम्पूर्ण खर्च एसपी कलेजले ब्यहोरेको कलेज प्रमुख योगराज उपाध्यायले बताउनुभयो । विद्यार्थीको प्रतिभा विकासका लागि कलेजको लगानी रहने उहाँले बताउनुभयो ।
एक पटक पूरा चार्ज गरेमा ८० देखि १ सय किलोमिटरसम्म कार गुड्ने सागरले दाबी गर्नुभयो । कार स्टार्ट गर्नका लागि चाबीसँगै सेक्युरिटी नम्बर पनि आवश्यक पर्दछ ।
यसले गर्दा कार चोरीको सम्भावना कम हुने उहाँले बताउनुभयो । यो गाडी निर्माण तरिकालाई अझै स्तरोन्नति गरेर व्यावसायिक बनाउन सकिने कलेजका प्रवन्ध निर्देशक शुभास शाहीले बताउनुभयो । कारमा फोल्डिङ सिट, क्यामेराको जडानले चालकले अगाडि पछाडि हेर्न सक्ने सागरले बताउनुभयो ।