काठमाडौं । बैकहरु वैधानिक लुटेरा हुन् भनेर बहस भइरहेका बेला एक ह्दय नै छियाछिया हुने घटना बाहिर आएको छ ।
बैकहरुले सुरुमा दिएको ऋणको ब्याज प्रतिशत केही समयमा नै दोब्बर बनाउँछन् भन्ने गुनासो बढेका बेला बैकले आफ्नै खाताको पैसा समेत नहुँदा कतिसम्म हुन्छ भन्ने घटना बाहिर आएको हो ।
भारतको बिहार राज्यको पटनामा एक बैंकमा एउटा शव आफ्नो पैसा लिन पुग्यो । बैंकमा उसलाई देखेर कर्चारीको सातो गयो ।
पटनाछेउको शाहजहाँपुर थाना क्षेत्रको सिगरियावांमा केनरा बैंकको शाखामा शव पैसा लिन पुगेको हो । यहाँका महेश यादवको मंगलबार बिहान मृत्यु भएको थियो । मृत्युपछि अन्तिम संस्कार गर्न उनको खातामा रहेको पैसा माग गर्दै आफन्त बैक पुगे । तर बैकले पैसा निकाल्न दिएन ।
मृत्युपछि आफन्तसँगै गाउँलेहरुले अन्तिम संस्कारका लागि बैंकमा गएर उनको खातामा भएको पैसा बैंकका कर्मचारीसँग मागे तर बैंक म्यानेजरले पैसा दिन मानेनन् ।
यो कुराले रिसाएका गाउँलेले यादवको शव लिएर बैंकमा पुगे र शवलाई बैंकभित्र राखिदिए । लगभग ३ घण्टासम्म बैंकमा महेशको शव त्यत्तिकै रह्यो । गाउँलेहरु पैसा नलिइ मान्न तयार थिएनन् ।
अन्ततः म्यानेजरले आफ्नै १० हजार रुपैयाँ गाउँलेलाई दिएर विवाद सुल्झाए । पैसा पाएपछि गाउँलेहरुले महेशको शव लिएर अन्तिम संस्कारका लागि गए । खासमा महेशको बिहे भएको थिएन र उनको परिवारमा पनि कोही थिएनन् ।
बैंक खातामा उनले आफ्नो कुनै हकदार पनि उल्लेख गरेका थिएनन् र उनको केवाइसी ‘फाराम पनि भरिएको थिएन । त्यसैले बैंकले प्रक्रिया पूरा नगरी उनको पैसा दिन मानेको थिएन । तर मृत्यु भएको र उनको पैसा अब उनलाई कहिलै काम नलाग्ने भएकाले अन्तिम संस्कार नै राम्रोसँग गरिदिन गाउँलेहरुले सबै रकम माग गरेका थिए ।
तर म्यानेजरले कानूनले दिन नमिल्ने भन्दै रोकिदिएका थिए । पछि स्थानीय अधिकारी र सर्जिमिन बसेर यो कुराको टुंगो लगाएका छन् । उनको अन्तिम संस्कार गर्न लागेको खर्च बैकमा रहेको रकमबाट नै हुने भएको छ ।