काठमाडौं । एएफसी यू–२० महिला एसियन कप–२०२४ को छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टिम प्यालेस्टाइनको पोस्टमा आधा दर्जन गोलको बर्षा गरेको छ ।

प्यालेस्टाइनस्थित फैसल अल–हुसेइनी रंगशालामा सम्पन्न खेलमा नेपालले घरेलु टिमविरुद्ध ६–० को फराकिलो जित दर्ता गर्‍यो ।

नेपालको जितमा दीपा शाहीले चार गोल गरिन् । यस्तै, गरिमा राईले दुई गोल गरिन् ।

खेलको २१औँ मिनेटमा दीपाले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । २९औँ मिनेटमा गरिमाले नेपालको अग्रता दोब्बर पारिन् । पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा चार गोल थप्यो । ६७औँ मिनेटमा दीपाले गोल गर्दै नेपाललाई ३–० को अग्रतामा राखिन् ।

७५औँ मिनेटमा दीपाले ह्याट्रिक गर्दै नेपालको अग्रतालाई ४–० मा पुर्‍याइन् । ८२औँ मिनेटमा गरिमाले नेपालका लागि पाँचौँ गोल गरिन् । यस्तै, खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा दीपाले चौथो गोल गर्दै टिमको अग्रतालाई ६–० मा पुर्‍याइन् ।

समूह ‘बी’ मा रहेको नेपालको समूहमा प्यालेस्टाइन र नर्थन मरियाना आइसल्यान्ड छन् । यसअघि यही समूहमा रहेको युनाइटेड अरब इमिरेट्स (यूएई) ले आफ्नो नाम फिर्ता लिएकाले नेपालले घरेलु टिम प्यालेस्टाइन र नर्थन मरियाना आइसल्यान्डसँग मात्र प्रतिस्पर्धा गर्ने भएको हो । नेपालले अब आइतबार नर्थन मारियाना आइसल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खबरहरु