काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ ।
उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको थियो ।
सो जहाज त्रिभुवन विमानस्थलमा केहीबेर अघि सुरक्षित अवतरण गरेको छ । सो जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन् ।
जहाज क्याप्टेन भरत सिंह थापाले उडाउनुभएको थियो । विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ जहाजको इन्जिनमा आगो देखिएको भनेर चालक दलका सदस्यले टावरलाई जानकारी गराउनुभएको थियो । त्यसलगत्तै जहाजलाई काठमाडौं फर्काइएको थियो ।
यो जहाज अवतरणका लागि अन्य उडान रोकिएको थियो । दमकल, एम्बुलेन्स लगायत आकस्मिक सेवा तयारी अवस्थामा राखिएको थियो । तर विमान अवतरण भएर इन्जिन रोकिदासम्म दुर्भाग्यपूर्ण घटना केही भएन ।