काठमाडौं । नेपालका ओपनर आशिफ शेखले आजको खेलमा एकै पटक तीन वटा रेकर्ड राखेका छन् ।
उनले आज पहिलो एक दिवसीय शतक प्रहार गरेका छन्।
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध त्रिवि क्रिकेट मैदानमा शेखले शतक प्रहार गरेका हुन् । उनको यो एक दिवसीय सिरिजमा पहिलो सतक हो । साथै आजै उनले १००० रनसमेत पूरा गरेका छन्।
यसअघि नेपालबाट कप्तान रोहित पौडेलले एक दिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरिसकेका थिए । आजबाट ओडिआई सिरिजमा उनी पाँचौ खेलाडीमा आएका छन् ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि शेखले १०१ बलमा १० छक्का र २ चौका प्रहार गरेका हुन्।
सुरूआतमै दुई ठूला जीवनदान पाएका आशिफले सानदार शतक प्रहार गरेका हुन्। उनी तेस्रो ओभरको चौथो बलमा ब्यक्तिगत पाँच रनमा पहिलो जीवनदान पाए।
यस्तै नवौं ओभरको पाँचौं बलमा पुनः ब्यक्तिगत २२ रनमा आशिफले जीवनदान पाएका थिए। सन् २०२१ मा पिएनजीविरूद्धनै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका आशिफले ३२ खेल खेलेका छन्।
यसअघि उनको एकदिवसीयमा उच्च स्कोर ९० रन थियो। उनले ओमानविरूद्ध ११२ बल खेल्दै ९० रन बनाएका थिए। पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए पछि नेपालले ब्याटिङ गर्ने भएको हो।
नेपालले आजको खेलमा अघिल्लो टोलीबाट एक परिवर्तन गरेको छ। प्रतिश जिसीको ठाउँमा कुशल भुर्तेलले खेल्ने भएका छन्। नेपालले अन्य परिवर्तन नगरेको कप्तान रोहित पौडेलले जानकारी दिए। घाइते भएर कुशलले युएईसँगको अन्तिम खेल गुमाएका थिए। तर उनी फिट भएपछि प्रतिश बाहिर बसेका हुन्।