काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले राष्ट्रपतिले दलीय संरचनाबाट अलग भएर काम गर्नुपर्ने बताउनु भएको छ । उहाँले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको हो । नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग उहाँले यस्तो कुरा बताउनुभयो ।
नयाँ निर्वाचित हुने राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको हो । राष्ट्रपति दलबाट अलग हुन नसके राष्ट्रपति पदलाई नै न्याय नहुने उहाँको भनाइ छ । साथै, उहाँले लामो समय लोकतान्त्रिक आन्दोलनमा सङ्घर्ष गर्नुभएका रामचन्द्र पौडेल आज राष्ट्रपति पदमा निर्वाचित हुने करिब निश्चित भएको कुरा पनि स्पष्ट गर्नुभयो ।
महामन्त्री थापाले भन्नुभयो, ‘यसअघिका राष्ट्रपतिबाट भएका कमजोरीबारे उहाँ जानकार हुनुहुन्छ । त्यसैले पनि उहाँ सुरुमा पार्टीबाट मन, वचन र कर्मले अलग हुनुपर्छ ।’ नयाँ निर्वाचित हुने राष्ट्रपतिलाई आफू अनुकुल संविधानको व्याख्या नगर्न उहाँले आग्रह गर्नुभयो ।