काठमाडौं । सन्दीप लामिछाने एक्लैले नेपालका लागि तीन विकेट लिएका छन् ।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले नेपालका लागि एक्लै तीन विकेट लिएका हुन् । उनले एक ओभरमा नै लगातार दुई विकेट लिए ।

३३ ओभरमा सन्दीप लामिछानेले २ विकेट लिएर मात्र २ रन दिए । क्रिजमा आएका चाड सोपरलाई सन्दीपले कुशल भुर्तेलको हातबाट क्याचआउट गराएका हुन् ।

यसैगरी सन्दीप लामिछानेले आफ्नो दोस्रो विकेट लिँदा पीएनजीले पाँचौं विकेट गुमायो । हिरी हिरी १६ बलमा ८ रन बनाएर बोल्ड आउट भए । खेलको १५ औं ओभरमापनि सन्दीप लामिछानेले आफ्नो पहिलो विकेट लिएका थिए । त्यो ओभरमापनि सन्दीपले मात्र २ रन खर्चिए ।

३६ औं ओभर सन्दीपले मेडन ओभर बनाए । सन्दीप लामिछानेले यो ओभरमा कुनै रन खर्चेनन् । यति बेलासम्म पीएनजीले ७ विकेट गुमाएर मात्र १५७ रन बनाएको छ । नेपालले २९८ रनको लक्ष्य दिएको छ ।

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग–२ को अन्तित सिरिज हो। यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण सावित हुनेछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका चार मध्ये दुई खेल जिते नेपालको लिग–२ बाटै एकदिवसीय मान्यता जोगिनेछ।

चारै खेलमा हात पारे नेपालले लिग–२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ। सिरिजमा नेपालले अब फागुन २८ मा युएई, फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ।

लिग–२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ। लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ। पाँचौ स्थानको नेपालले ३२ खेलबाट ३२ अंक जोडेको छ। युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ। पुछारको ‍पिएनजीको ३२ खेलबाट ९ अंक छ।

सम्बन्धित खबरहरु