काठमाडौं । प्रेस चौतारी नेपालले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी ११३औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ।

प्रेस चौतारी केन्द्रीय समितिले बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी महिला दिवस मनाएको हो। उपाध्यक्ष देविका घर्ती मगरको अध्यक्षता तथा अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।

त्यस अवसरमा बोल्दै चौतारीका अध्यक्ष बस्नेतले पत्रकार महिलाको विकास र समानताका लागि चौतारीले पहलकदमी लिँदै आएको बताउनुभयो ।

महिलाको समान सहभागिता तथा अवसरका लागि सहकार्यको महत्वपूर्ण भूमिका हुनुपर्ने भन्दै अध्यक्ष बस्नेतले सबै मिलेर मात्रै समतामूलक समाज निर्माण हुने बताउनुभयो । सम्पत्तिमा महिलाको अधिकार स्थापित नहुँदासम्म महिलाहरूको कन्फिडेन्स वृद्धि हुन नसक्ने अध्यक्ष बस्नेतको भनाई थियो।

त्यसैगरी चौतारीका सल्लाहकार तथा नेकपा एमाले प्रचार विभागका सदस्य निर्मला शर्माले सन् १९११ देखि अन्तराष्ट्रिय रुपमा मनाउन थालिएको श्रमिक महिला दिवस ११३ औं वर्ष भइरहँदा अझैपनि नेपाली महिलाको अवस्थामा उल्लेख्य विकास हुन नसकेको बताउनुभयो ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरू गरेको लामो समय भइसक्दापनि अहिले पनि महिलाहरू निर्णायक तहमा पुग्न नसकेको अवस्था रहेको शर्माको भनाई थियो। पत्रकार महिलाको अवस्थामा विगतमा भन्दा अहिले धेरै सुधार भएपनि अझैपनि पारिश्रमिकमा विभेद, समयमा पारिश्रमिक उपलब्ध नहुँदा र अवसरको समान बाँडफाँड हुन नसकेको शर्माले उल्लेख गर्नुभयो ।

ऐन, कानूनको अवस्थालाई हेर्दा नेपालमा महिलाका लागि प्रशस्तै ऐन, कानून बनेपनि त्यसको कार्यान्वय तथा महिलाको वास्तविक अवस्थामा भने अझैपनि सुधार हुन नसकेको उहाँले गुनासो गर्नुभयो ।

त्यसैगरी चौतारीका उपाध्यक्ष देविका घर्ती मगरले पत्रकार महिलाले पेशामा निरन्तरताको विषय लामो समयदेखि उठ्दै आएपनि अझैपनि अवस्था उस्तै रहेको बताउनुभयो । अझैपनि जागिरबाट निकालिने र समान पारिश्रमिक नपाउने अवस्थाबाट पत्रकार महिला गुज्रिरहेको उहाँको भनाई थियो।

कार्यक्रममा सञ्चारिका समूहका महासचिव बसन्ती बास्तोलाले पत्रकार महिलाको समान अवसरका लागि अझै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । त्यस्तै पत्रकार कालिका खड्काले पत्रकार महिलाको समान क्षमता अभिवृद्धि र अवसरका लागि संगठनहरूले पनि जोड दिनुपर्ने धारणा राख्नुभएको थियो ।

 

सम्बन्धित खबरहरु