चितवन । पृथ्वी राजमार्गको कुरिनटार नजिकै लेवाटार त्रिशूली किनारमा देखिने चहलपहल हेर्दा पक्की पुल निर्माण गर्न लागेको हो कि जस्तो देखिन्छ ।

टिपर र एस्काभेटर त्यहीँ छन् । नदी वारपार हुने गरी बाँध बनाउँदै गरेका मान्छेहरू देखिन्छन् ।

तर कुनै स्थायी संरचना बनाउन नभइ यहाँ गिट्टी ढुंगा ओसार्न सजिलो होस् भनेर कच्ची बाटो बनाउन त्रिशूली नदी नै थुन्ने काम भइरहेको हो ।

गोरखाको सहिद लखन गाउँपालिकाले ठेक्का लगाएको गिट्टी ढुंगा ओसारेर चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटार हुँदै नदी तार्न नदी नै थुनेर कच्ची बाटो बन्न लागेको हो ।

नदीको धार नै परिवर्तन गर्ने गरी बाटो बनाउन थालेपछि इच्छाकामाना गाउँपालिकाले उक्त काम रोक्न सहिद लखन गाउँपालिकालाई पत्रचार नै गर्‍यो । तर पहिला काम सुरु गरेको ठाउँबाट नभइ अर्को नयाँ ठाउँबाट धमाधम बाटो बनाउने काम भइरहेको छ ।

‘पहिला हाम्रै चितवनतिरको इच्छाकामना–४ धारापानी बगरबाट काम सुरु गरे । त्यो देखेर हामीले तुरुन्त रोक्न भन्यौं । उनीहरुले त्यहाँको काम रोके पनि । तर पछि फेरि त्यहाँदेखि लगभग पाँच सय मिटर तल वडा नम्बर ४ कै लेवाटारदेखि पारि गोरखाको ठेउवाटारबाट काम सुरु गरेका छन्,’ इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले भन्नुभयो । उहाँका अनुसार अहिले गोरखातर्फबाट काम सुरु गर्दै उनीहरू चितवनतर्फ आइरहेका छन् ।

‘हाम्रोतर्फ काम हुँदा रोक्न भनियो, रोके पनि । तर गोरखा तर्फबाट सुरु गरेपछि त्यता रोक्न भन्दै जान मिलेन । काम गर्दै अगाडि बढेका छन्,’ वडाध्यक्ष उप्रेतिले भन्नुभयो ।

त्रिशूली नदी जल पर्यटनको प्रमुख आधार र्‍याफ्टिङ हुने मुख्य ठाउँ हो । नदी थुनेर यसरी बाटो बनाउँदा र्‍याफ्टिङ व्यवसाय सञ्चालन गर्न कठिन हुने भन्दै पर्यटन व्यवसायीहरु पनि विरोधमा उत्रिएका छन् । उनीहरुले इच्छाकामना गाउँपालिकामा विरोधपत्र पनि दिएका छन् ।

‘र्‍याफ्टिङ व्यवसायीहरुको विरोधपछि फेरि हामीले काम रोक्नु भन्दै शुक्रबार सहिद लखन गाउँपालिकालाई पत्रचार गरेका छौं । तर नदीमाथि काम भइरहेको छ । संघीय सरकारका प्रतिनिधि सीडीओ कार्यालयदेखि प्रदेशका सांसदसम्मलाई यस बारेमा थाहा छ ।

हामीले पनि प्रयास गरेका छौं,’ इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले भन्नुभयो । तर इच्छाकामना गाउँपालिकाको प्रायस र चाहनाले मात्रै नदीमाथि बाटो बनाउने काम रोक्न नसकिने देखेको उहाँले बताउनुभयो । उहाँले संघ र प्रदेश सरकारका प्रतिनिधिले पनि साथ दिनु पर्ने बताउनुभयो ।

गोरखातिर बाँध बाँधेपछि केही ठाउँमा ह्युम पाइप राखेर नदीको पानी जान दिइएको छ । चितवनतर्फ पूरै बाँध नबाँधेर ठाउँ साँधुरो बनाएपछि ‘बेली ब्रिज’ ल्याएर राख्ने र गोरखा तिरको गिट्टी ढुंगा ओसार्न सुरु गर्ने योजना रहेको काम गर्नेहरुले अध्यक्ष गुरुङलाई बताएका छन् ।

यस्तो कामले र्‍याफ्टिङ व्यवसायलाई मात्रै नभइ नदीको धार नै परिवर्तन हुँदा चितवनतर्फ कटानको समस्या बढ्ने खतरा देखेको अध्यक्ष गुरुङको भनाइ छ ।

गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले गाउँपालिकाले इआइए गरेर र अरु सबै प्रक्रिया पुर्‍याएर गिट्टी ढुंगाको ठेक्का सम्झौता गरेको बताउनुभयो ।

‘हामीले ठेक्का लगाएको हो । ठेकेदारले के कसरी कता लैजाँदै छ हामीलाई थाहा हुने कुरो भएन । नदीमाथि बाटो बनाएको हो भने पनि हामीले हैन । ठेकेदारले बनाएको होला’ सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले भन्नुभयो ।

उहाँले आफू बाहिर रहेका कारण कति परिमाणमा गिट्टी निकाल्न ठेक्का दिएको र ठेकेदार कम्पनी कुन हो भन्ने बारेमा यसै भन्न नसक्ने बताउनुभयो । इच्छाकामनामा भएको पत्राचार अनुसार सिन्धुपाल्चोक बेलफी–३ को त्रियुग निर्माण सेवाले गिट्टी ढुंगा उत्खनन्को ठेक्का पाएको देखिन्छ । सहिद लखन गाउँपालिकाले सो कम्पनीलाई गिट्टी ढुंगा तार्ने काममा सहजिकरण गर्न भन्दै फागुन ४ मा इच्छाकामना गाउँपालिकालाई पत्राचार गरेको थियो ।

‘हामीले चितवन तर्फका कुनै पनि नदीजन्य सामाग्री चलाउन नपाइने, अवागमनमा प्रभाव नपर्ने गरी र नदीको मुल प्रवाह नबिग्रने गरी काम गर्नु होला भनेर जवाफ पठायौं ।

तर हाम्रो पत्रपछि ठेकेदार कम्पनीले हाम्रै क्षेत्रको ढुंगा गिट्टी बालुवा प्रयोग गरेर काम सुरु गरेपछि काम रोक्न भन्दै पत्र पठायौं,’ इच्छाकामना गाउँपालिकाका अध्यक्ष गुरुङले भन्नुभयो । त्यो पत्रपछि पहिलेको ठाउँको काम रोकेर अहिले नयाँ ठाउँबाट बाँध लगाउने काम भइरहेको र त्यो काममा पनि आफूहरुको सर्त पालना नभएको उहाँले बताउनुभयो ।

र्‍याफ्टिङ व्यवसायी कमल ठकुरीले नदीको स्वरुप र सौन्दर्य नै बिग्रने गरेर काम भएको बताउनुभयो । ‘म रिभर गाइड भएको नाताले नदी नाला बचाउँ भन्ने लाग्छ । त्यसैले बन्दै गरेको बाँध रोकेर त्रिशूली जस्तो स्वरुपमा छ त्यसै गरी बग्नु पर्छ भन्ने मेरो धारणा हो,’ ठकुरीले भन्नुभयो । इच्छाकामना गाउँपालिकाका दुई सय जनाले र्‍याफ्टिङमा रोजगार पाएको उहाँले बताउनुभयो । यसरी बाँध लगाउँदा र्‍याफ्टिक चलाउन गाह्रो हुने उहाँले बताउनुभयो ।

‘यहाँ त ग्याबिन जाली राखेर ड्याम बनाउँदै छन् । भोलि पानी बढेको अवस्थामा ड्याम र जाली बाहिर नदेखिने तर बोट गएर ठोक्किने हुन सक्छ । मान्छे अड्कने जोखिम धेरै छ । यस्तो काम किन गरेको होला,’ ठकुरीले भन्नुभयो । नदी थुन्ने काम गर्दा सरोकारवाला कसैलाई वास्ता नगरेको उहाँले बताउनुभयो ।

‘पहिले त ह्युम पाइप राखेर काम गर्ने भन्ने सुनेको थिएँ । हामीले आपत्ति जनाएपछि बेली ब्रिज राख्ने हो भनेका छन् रे । बेली ब्रिज राख्ने हो भने नदी वारपार हुने लामो बेली ब्रिज राखेर काम गरुन्, केही भएन । तर आधा भन्दा बढी ड्याम बाँधेर छोट्टो दूरीका लागि मात्रै बेली ब्रिज राखेर काम गरेर त हुँदैन,’ ठकुरीले भन्नुभयो । काम रोक्न भनेर दुई पटक पत्रचार गरे पनि सुनुवाइ हुने सम्भावना नदेखेको इच्छाकामनाका अध्यक्ष गुरुङको भनाइ छ ।

सम्बन्धित खबरहरु