काठमाडौं । पृथ्वीका लागि नयाँ खत्तरा देखा परेको भन्दै बहस सुरु भएको छ । नयाँ पत्ता लागेको एउटा एस्टेरोइड अर्थात् क्षुद्रग्रहले अबको २३ वर्षपछि पृथ्वीमा प्रभाव पार्ने सम्भावनाबारे नासा बोलेको हो । सो खत्तरा न्यून रहेको अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गलवार जानकारी दियो ।

ओलिम्पिक्स खेलमा प्रयोग हुने पौडी पोखरी जत्रो आकारको उक्त चट्टानी टुक्रा पृथ्वीमा ठोकिने अवस्था आए त्यो सन् २०४६ को प्रणय दिवसका दिन आइपुग्ने नासाको पूर्वानुमान छ । हरेक वर्ष फेब्रुअरी १४ मा प्रणय दिवस मनाइन्छ । नासाका अनुसार उक्त क्षुद्रग्रह पृथ्वीको सबैभन्दा नजिकको दूरीबाट १८ लाख किलोमिटर टाढा छ ।

अनुसन्धानकर्ताले यसबारे थप तथ्याङ्क सङ्कलन गरिरहेको भनेका छन् । विस्तृत विवरणपछि अहिले गरिएको प्रक्षेपण परिवर्तन हुनसक्छ । नासाले उक्त क्षुद्रग्रहलाई ‘२०२३ डीडब्लू’ नाम दिएर अनुसन्धान गरिरहेको छ । पृथ्वीमा क्षति पुग्ने सम्भावना ५६० मा एक रहेको बताइएको छ । तर पृथ्वीलाई असर गर्ने सूचीमा नासाले राखेका अन्तरिक्ष चट्टानहरू मध्ये यो एक नम्बरमा पर्दछ ।

शून्य देखि १० सम्म सूचीकृत गरिएका अन्तरिक्ष वस्तुहरू पृथ्वीमा ठोकिने जोखिम हुन्छ । शून्यमा सूचीकृत गरिएका अन्य वस्तुहरूको जोखिम शून्य हुन्छ । एक नम्बरमा सूचीकृत भनेको पृथ्वीमा ठोकिने सम्भावना निकै कम रहेको र आम चिन्ताको विषय नभएको भन्ने हुन्छ । नासाका अनुसार यो वस्तु खासै चिन्ता लिनुपर्ने किसिमको होइन ।

यदि यो क्षुद्रग्रह पृथ्वीमा बज्रिए छ करोड ६० लाख वर्षअघि पृथ्वीबाट डाइनसोर लोप गराउने जस्तो प्रभाव हुने छैन् । अहिलेको गल्फ अब मेक्सिको भनिने स्थानमा एउटाभन्दा बढी क्षुद्रग्रह बज्रिँदा पृथ्वीबाट डाइनसोर लोप भएको विश्वास गरिन्छ । उक्त क्षुद्रग्रह १२ किलोमिटर चौडा रहेको साइन्टिफिक अमेरिकनले अनुमान गरेको छ ।

त्यसले २०० किलोमिटर चौडा खाडल बनाएको र त्यस क्रममा ठूलो भूकम्प र सुनामी मात्र हैन विश्वभरि आगोको ज्वालायुक्त आँधी फैलिएको थियो । सानो भए पनि ‘२०२३ डीडब्लू’ पृथ्वीको प्रमुख सहर वा ठूलो जनघनत्व भएको क्षेत्रमा ठोकिन आइपुगे व्यापक क्षति निम्त्याउन सक्ने खत्तरालाई कसैले नर्कान सक्दैँन् ।

आजभन्दा १० वर्ष पहिले रुसमा एउटा उल्का बज्रिएको थियो जसले २०० वर्ग माइल टाढासम्म तरङ्ग पैदा गर्नुका साथै झ्यालका सिसाहरू फुटाइदिएको थियो । उक्त घटनामा करिब १५०० मानिसहरू घाइते भएका थिए । वैज्ञानिकहरूले क्षुद्रग्रहबाट हुनसक्ने सम्भावित जोखिमबारे वर्षौँदेखि तयारी गरिरहे पनि यस्ता चट्टानहरू पृथ्वीमा आइपुग्ने सम्भावना निकै कम हुन्छ ।

सम्बन्धित खबरहरु