काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।

आइतबार निर्वाचन अधिकृतको कार्यालयले रामसहाय प्रसाद यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने निर्णय गरेको हो।

महिला उम्मेदवार नै हुनुपर्ने दाबी गर्दै उम्मेदवार नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उजुरी दिनुभएको थियो । तर संविधानको व्यवस्थाअनुसार महिला नै हुनुपर्ने नभएको भन्दै आयोगले यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने स्पष्ट पारेको हो।

यसअघि उपराष्ट्रपति पदका उम्मेदवार यादवले आफूविरुद्ध परेको उजुरीमा जवाफ दिनुभएको थियो । आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले आफूविरुद्ध परेको उजुरी खण्डन हुने दाबीसहित जवाफ दिनुभएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्ने र पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिनुभएको छ ।

नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्छ । उम्मेदवारलाई आज ५ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिने समय आयोगले दिएको छ।

उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने कानून व्यवसायीको माग

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीहरुले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् ।

आइतबार संसद भवनस्थित राष्ट्रपतिरउपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले निर्वाचन अधिकृत महेश शर्मा पौडेलको ध्यानाकर्षण गराएका हुन् ।

संविधानको धारा ७० लगायत राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानूनले व्यवस्था गरेअनुसार फरक लिंग र फरक समुदाय राष्ट्रपतिरउपराष्ट्रपति हुने व्यवस्थाको बारेमा ध्यानाकर्षण गराउन निर्वाचन अधिकृतको कार्यालय आउनुपरेको अधिवक्ता राधिका खतिवडाले बताउनुभयो ।

खस आर्यबाट राष्ट्रपतिमा पुरुष उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले अब महिला उम्मेदवार उपराष्ट्रपति हुनुपर्ने उहाँको भनाइ थियो ।

सम्बन्धित खबरहरु