काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपालका ललित राजवंशीले नेपाललाई पहिलो ओभरमा नै सफलता दिलाएका छन् ।

ललितले पहिलो ओभरको ५ बलमा नै पहिलो विकेट लिएका हुन् । यो ओभरमा युएईले कुनै रन जोड्न सकेन ।

ललितले यूएईका भृत्य अरविन्दलाई बोल्डआउट गरेका हुन् । यूएईका भृत्य अरविन्द र आसिफ खानले ओपनिङ गरेका छन् ।

२.४ ओभरमा नेपालले दोस्रो सफलता हासिल गरेको छ । दीपेन्द्र सिंह ऐरीले आर्यन लाक्रालाई बोल्डआउट गरेका छन् । दीपेन्द्रको बलमा बोल्डआउट हुनुअघि आर्यनले रन बनाउन सकेनन् । नयाँ ब्याटरका रुपमा मोहम्मद वासिम क्रिजमा पुगेका छन् ।

नेपालले युएईलाई २४९ रनको लक्ष्य दिएको छ। लक्ष्य भेट्न युएई कीर्तिपुरस्थित क्रिकेट मैदानमा संघर्ष गरिरहेको छ ।

आजको खेल जिते नेपालको एकदिवसीय मान्यता जोगिनेछ भने लिग–२ को शीर्ष तीनमा रहने सम्भावना जीवित नै हुनेछ।

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग–२ को अन्तिम सिरिज हो। सात टिमबीचको लिग–२ को अन्तिम सिरिजबाट विश्वकप छनोट, एकदिवसीय मान्यता र विश्वकप क्वालिफायर प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ।

यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण सावित हुनेछ। आजसहित तीनै खेलमा हात पारे नेपालले लिग–२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ। सिरिजमा नेपालले अब फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ।

लिग–२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ। लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ। पाँचौ स्थानको नेपालले ३३ खेलबाट ३४ अंक छ। युएई ३३ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ। ‍पिएनजीको ३४ खेलबाट ११ अंक छ।

सम्बन्धित खबरहरु