काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको घर नजिकै पाकिस्तानी सुरक्षा बलहरू पछि हटेका छन् । यससँगै प्रहरी र खानका समर्थकबीचको लगातारको झडपको पनि अन्त्य भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरी बल लाहोरमा खानको घरको वरिपरिबाट पछि हटेको हो ।

यसअघि सुरक्षाकर्मीले समर्थकमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरी प्रदर्शनलाई नियन्त्रणमा लिन खोजेका थिए । यसअघि इमरान खानका समर्थकलाई प्रहरीले पक्राउ गर्न कुनै समस्या नहोस् भनेर घरबाट बाहिर निकालेको थियो ।

समाचार एजेन्सी रोयटर्सले जियो न्युजलाई उद्धृत गर्दै लाहोरमा हुन लागेको पीएसएल खेललाई ध्यानमा राख्दै प्रहरी कारबाही रोकिएको र खेलपछि पुन: कारबाही सुरु हुन सक्ने बताएको छ । अर्कोतर्फ, इमरान खानले एक ट्विटमा आफूले एक ‘सुरिटी बन्ड’ मा हस्ताक्षर गरेको जानकारी गराए ।

जस अन्तर्गत यो सुनिश्चित गरिएको छ कि उनी र तेहरिक–ए–इन्साफ पार्टीका वरिष्ठ नेता फवाद खान मार्च १८ मा अदालतमा उपस्थित हुनेछन् । पार्टीको ट्विटर ह्यान्डलबाट सेयर गरिएको भिडियोमा इमरान खान मास्क लगाएका केही कार्यकर्ताहरूसँग कुरा गरेका छन् ।

सम्बन्धित खबरहरु