काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ ले सशस्त्र युद्धको झल्को भुल्नै नसकेको देखिन्छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट निवेदन दर्ता गर्न आदेश दिएपछि उहाँ उग्र रुपमा अदालत र अदालतको फैसला समर्थन गर्नेहरुसँग खनिइरहनुभएको छ ।

माओवादी घटकहरुलेपनि विरोध गरिरहेका छन् । राजनीतिक प्रतिवादहरुकै बीच सबै संयम गुमाएर विप्लव बोलिरहनुभएको छ ।

एक साताअघि उहाँले आफूहरुविरुद्ध बोल्नेलाई ‘ठेगान लगाइदिने’ धम्की दिनुभएको थियो । त्यसको अर्को दिन उहाँले ‘सशस्त्र हिंसाको इतिहास दोहोर्‍याउने’ धम्की दिनुभयो । आज बुधबार माओवादी युद्धबारे बोल्नुअघि ‘आफ्नो जीवनको ख्याल गर्न’ भन्दै ज्यानको धम्की दिनुभएको छ ।

‘एकीकृत जनक्रान्ति’ भन्दै केही वर्षअघिसम्म स्वयं प्रचण्डमाथि नै भौतिक आक्रमणमा समेत ओर्लिएको विप्लव समूह तत्कालीन केपी ओली सरकारसँग आकस्मिक सम्झौतापछि लगभग निष्क्रिय थियो ।

सोही नेकपाका महासचिव विप्लव हिजोआज कहिले प्रधानमन्त्री प्रचण्ड बसेकै मञ्चबाट, कहिले अन्य ठाउँबाट आफूहरुविरुद्ध आलोचना गर्नेलाई खुल्लमखुल्ला ज्यानको धम्की दिइरहनुभएको छ ।

विप्लवका यस्ता धम्कीबारे अहिलेसम्म सरकारको कुनै प्रतिक्रिया प्राप्त छैन । आज बुधबार पनि यस्तै भयो । राजधानीमा आयोजित एक कार्यक्रममा विप्लवले द्वन्द्वकालीन मुद्दा फेरि उठाउन खोजिएको भन्दै त्यसमा संलग्नहरुलाई ‘आफ्नो जीवनको ख्याल गर्न’ धम्की दिनुभयो ।

‘जनयुद्ध जनताले लडेको युद्ध हो । त्यो युद्धलाई अपवादको रुपमा अपराधीकरण गरिंदैछ । लडेको मान्छेलाई अपराधीकरण गरिंदैछ’ राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘यसलाई कुनै पनि हालतमा छुट दिन सकिंदैन । जो आपराधिक करार गर्ने उद्देश्यले आएको छ, त्यसले आफ्नो जीवनको पनि ख्याल गर्नुपर्छ ।’

विप्लवले यसअघि पनि शान्ति प्रक्रिया भाँड्न खोजिएको भन्दै संक्रमणकालीन न्यायको प्रक्रिया भाँड्न खोजे नराम्रो हुने चेतावनी दिनुभएको थियो । साथै उहाँले जनताले लडेको युद्धसम्बन्धी विवाद जनताले नै टुंग्याउनुपर्ने भनी अभिव्यक्ति दिइरहनुभएको छ ।

सम्बन्धित खबरहरु