काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत चैत २ गते हुने नेपाल र यूएईबीचको खेलका सबै टिकट बिक्री भएका छन्।

लिग–२ को अन्तिम खेलमा नेपाल र यूएई प्रतिस्पर्धा गर्दै छन्। यो खेल जितेमा नेपालले विश्वकप क्वालिफायर प्रतियोगिता खेल्न पाउनेछ। यो खेल हेर्नका लागि लाखौं मानिस कीर्तिपुर पुग्ने अनुमान गरिएको छ ।

नेपाल र यूएईबीचको खेल चैत २ गते बिहान ९ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। अन्तिम खेलका सबै टिकट चैत १ गते नै बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

बिहीबारको खेलमा दर्शकको संख्या अत्यधिक हुने भएकाले बालबालिका र वृद्धवृद्धालाई सुरक्षित तरिकाले घरमै प्रत्यक्ष प्रसारण हेर्न क्यानले आग्रह गरेको छ। यससँगै त्रिवि मैदानमा आउने दर्शकलाई पनि संयमित तरिकाले खेल हेर्न क्यानले अपील गरेको छ।

नेपाल, यूएई र पपुवा न्युगिनीबीच जारी त्रिदेशीय श्रृंखला अन्तर्गतका खेलमा क्यानले टिकटको मूल्य १५० रुपैयाँ तोकेको थियो। नेपाल र यूएईबीच हुने खेलमा बिक्री भएका सबै टिकटबाट आउने रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ।

अहिले लिग २ को अंक तालिकामा स्कटल्यान्ड ५० अंक र ओमन ४४ अंकसहित शीर्ष दुई स्थानमा रहँदै विश्वकप क्वालिफायरका लागि छनोट भइसकेका छन्। यो लिगबाट तेस्रो स्थानमा रहेको टोली पनि विश्वकप क्वालिफायरमा छनोट हुनेछ।

अंक तालिकामा तेस्रो स्थानमा रहेको नामिबियाको ३९ अंक छ। नामिबियाले सबै खेल खेलिसकेको छ।

त्यस्तै, चौथो स्थानमा रहेको नेपालको ३८ अंक छ। अन्तिम खेलमा जितेमा नेपालले ४० अंकसहित तेस्रो स्थानमा रहँदै विश्वकप क्वालिफायर खेल्न पाउनेछ।

छैटौं नम्बरमा रहेको यूएईको ३३ अंक छ। पाँचौ नम्बरमा रहेको अमेरिकाको ३५ अंक छ। अमेरिकाले सबै खेल खेलिसकेको छ।

अंक तालिकामा पाँचौ स्थानसम्म रहेका टोली एकदिवसीय वरियता जोगाउनेछन्। अन्तिम खेल जितेमा ३५ अंकसहित पाँचौ स्थानमा रहेर यूएईको पनि एकदिवसीय वरियता जोगाउने सम्भावना रहेको छ।

नेपालले भने एकदिवसीय वरियता जोगाइसकेको छ। अन्तिम खेल लिगको तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायर प्रतियोगितामा छनोट हुनका लागि खेल्दै छ।

https://twitter.com/CricketNep/status/1636033979257085955

सम्बन्धित खबरहरु