काठमाडौं । उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरिया र जापानका शीर्ष नेताहरुको ऐतिहासिक शिखर वार्ताअघि मिसाइल प्रक्षेपण गरिएको हो ।

वार्ताअघि इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) प्रक्षेपण गरेर कडा उत्तर कोरियाले कडा सन्देश दिएको छ ।

जापान र दक्षिण कोरिया दुवैका अधिकारीहरूले मिसाइल प्रक्षेपणको पुष्टि गरेका हुन् । बिहीबार बिहान प्रहार गरिएको मिसाइल जापानबाट करिब एक हजार किलोमिटर पश्चिम समुद्रमा खसेको थियो ।

दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफका अनुसार उत्तर कोरियाको पूर्वी तटबाट स्थानीय समयानुसार बिहान ७:१० बजे मिसाइल प्रक्षेपण गरिएको हो । जापानको रक्षा मन्त्रालयले यो क्षेप्यास्त्र आईसीबीएम भएको स्वीकार गरेको छ ।

मन्त्रालयले करिब ७० मिनेटमा ६ हजार किलोमिटरभन्दा बढी उडान गरेको बताएको छ । यो मिसाइल अमेरिकासम्म पुग्न सक्छ । पछिल्लो एक हप्तामा उत्तर कोरियाले गरेको यो चौथो मिसाइल प्रक्षेपण हो ।

यद्यपि बाँकी मिसाइलहरू छोटो दूरीका थिए । कोरियाली प्रायद्वीप नजिक अमेरिका र दक्षिण कोरियाबीच जारी नौसेना अभ्यासको बीचमा उत्तर कोरियाले यो कदम चालेको हो ।

उत्तर कोरियाले सैन्य अभ्यास आफूलाई उक्साउने कामका रुपमा भएको बुझ्दै आएको छ । तर, दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले यो मिसाइल प्रक्षेपणपछि पनि अमेरिकासँगको संयुक्त अभ्यास जारी रहने बताए ।

उनले उत्तर कोरियाले आफ्नो ‘लापरवाह उत्तेजना’ को मूल्य चुकाउन तयार हुनुपर्ने चेतावनी पनि दिएका छन् । बिहीबारको मिसाइल प्रक्षेपणपछि दक्षिण कोरिया र जापानले आफ्नो राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउने घोषणा गरेका छन् ।

 

सम्बन्धित खबरहरु