काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराध अनुसन्धान छिटोछरितो गरी आपराधिक घटना नियन्त्रण गर्न र माफिया, बिचौलियालगायतका बेथिति अन्त्य गर्न निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई बिहीबार सम्बोधन गर्नुहुँदै उहाँले वैदेशिक रोजगारीमा जाँदा युवालाई अनावश्यक दु:ख नदिन पनि निर्देशन दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अपराध नियन्त्रण, अनुसन्धान र अभियोजनलाई छिटोछरितो र विश्वसनीय बनाई आपराधिक घटना नियन्त्रण गर्ने र माफिया, बिचौलिया, दलाली, घुसखोरीजस्ता बेथिति र विसङ्गतिको अन्त्य गर्नूस् ।”

“वैदेशिक रोजगारीमा जाने युवाले अनावश्यक दु:ख पाएको गुनासो सुन्ने गरेको छ । पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दादेखि अध्यागमनसम्म युवाले दु:ख पाएको कुरा गम्भीर छ । दु:ख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस्,” बैठकमा प्रधानमन्त्रीले भन्नुभयो ।

गृह प्रशासनसँग सम्बन्धित विद्यमान नीति तथा कानुनलाई समसामयिक बनाउनेतर्फ लाग्न र कार्य सञ्चालनसँग सम्बन्धित निर्देशिका, दिग्दर्शन र कार्यविधि तर्जुमा एवं परिमार्जन गर्न उहाँले निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “देशको अर्थतन्त्रमा देखा परेका समस्यासँगै लघु वित्त तथा सहकारी र बैङ्क तथा वित्तीय क्षेत्रमा बचतकर्ता र ऋणीका तर्फबाट समेत आक्रोश एवं केही अवाञ्छित गतिविधिलगायतलाई सबै सुरक्षा निकायले गम्भीरतापूर्वक मनन गरी समग्र शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाउनू ।”

सार्वजनिक सेवा वितरणको वर्तमान सरकारी शैलीलाई परिष्कृत र वैज्ञानिक बनाई नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लिँदा नागरिकहरूले महसुस गरिरहेको झन्झट र ढिलासुस्तीको अन्त्य गर्न पनि प्रधानमन्त्री प्रचण्डले निर्देशन दिनुभयो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु