काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनको मतगणना चलिरहेको छ । नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदान सकिएको केही समय पछि नयाँ बानेश्वरस्थित संसद् भवनमा नै मतगणना सुरु भएको हो ।

नेपालको तेस्रो उपराष्ट्रपति चयनका लागि सङ्घीय संसद् भवनमा बिहान १० बजेबाट सुरु भएको निर्वाचन तीन बजे सम्पन्न भएको थियो । सो निर्वाचनमा सङ्घीय र प्रदेश सांसदहरूले मतदान गरेका छन् । आजै मत परिणाम घोषणा गर्ने निर्वाचन आयोगले जनाएको छ ।

उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्‌तर्फ कुल ३११ र प्रदेशसभातर्फ ५१८ मत खसेको आयोगले जानकारी गरायो । राष्ट्रपति निर्वाचनमा बनेको आठदलीय गठबन्धनबाट जनता समाजवादी पार्टी–नेपालबाट रामसहाय यादव र जनमत पार्टीबाट ममता झा उम्मेदवार हुनुहुन्छ ।

नेकपा (एमाले) ले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ । जसपा–नेपालबाटै प्रमिलाकुमारी यादवले समेत उम्मेदवारी दर्ता गराएकी थिइन् । तापनि पछि उनले फिर्ता लिएको बताइन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन पाउने समयभित्र यादवले उम्मेदवारी कायमै राखेकाले कानुनत: उनीपनि उम्मेदवार रहेको जानकारी दियो ।

सम्बन्धित खबरहरु