काठमाडौं । खालिस्तान समर्थकले भारतीय झण्डा निकालेका छन् । खालिस्तानी पृथकतावादीहरूले बेलायतको राजधानी लण्डनमा रहेको भारतीय उच्चायोगमा भएको तिरङ्गा (झण्डा) निकालेका हुन् ।

त्यसपछि भारतले दिल्लीस्थित सबैभन्दा वरिष्ठ ब्रिटिश कूटनीतिज्ञलाई बोलाएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारतले आइतबार राति बेलायती कूटनीतिज्ञलाई बोलाएर सुरक्षा व्यवस्थाको अभावलाई लिएर स्पष्टीकरण मागेको हो ।

यसअघि सामाजिक सञ्जालमा धेरै भिडियोहरू भाइरल भएका थिए, जसमा खालिस्तान समर्थकहरूले लण्डनस्थित भारतीय उच्चायोगमा राखिएको तिरङ्गा निकालेका थिए ।

विदेश मन्त्रालयले एक विज्ञप्तिमा भारतले बेलायतमा रहेको भारतीय कूटनीतिक परिसर र त्यहाँ काम गर्नेहरूको सुरक्षाप्रति बेलायत सरकारको उदासीनता देखेको भन्दै त्यो स्वीकार्य नभएको भनेको छ ।

जानकारी अनुसार भारतका लागि बेलायती उच्चायुक्त एलेक्स एलिस हाल दिल्लीमा छैनन् । बेलायतका उप–उच्चायुक्त क्रिस्टियन स्कटलाई विदेश मन्त्रालयले बोलाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यी तत्वहरूलाई उच्च आयोग परिसरमा प्रवेश गर्न दिने सुरक्षा व्यवस्थाको अभावमा बेलायतबाट स्पष्टीकरण मागिएको छ ।’

विदेश मन्त्रालयले यस घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी पक्राउ गर्न माग गरेको छ । अर्कोतिर बेलायती उच्चायुक्त एलिसले ट्वीट गर्दै यस घटनाको निन्दा गरेका छन् । अहिले अर्को भारतीय झण्डा लगाइएको छ ।

सम्बन्धित खबरहरु