काठमाडौं । केही महिना अघि विदेशी मुद्राको सञ्चिती करिब शून्यमा झरेर औषधि इन्धनलगायत जरूरी सामान आयात गर्न समेत नसकेको श्रीलंकाले डलर संकटको अन्त्य भएको घोषणा गरेको छ।

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्‍दनलाल विरासिंघेले डलर संकटको समस्या समधान भएको बताएका छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले दुई अर्ब ९० करोड डलरको स्वीकृति गर्ने भएसँगै उनले डलर संकटको अन्त्य भएको बताएका हुन्।

श्रीलंकासँग अत्यावश्यक क्षेत्रको आयातका लागि पर्याप्त विदेशी सञ्चिति हुने बताउँदै उनले आइएमएफको प्याकेजले लगानीकर्ताको भावनालाई बढावा दिने र थप विदेशी कोष र लगानीमा देशको पहुँच बढाउने बताएका छन्।

सन् २०२२ मा दक्षिण एसियाली मुलुक श्रीलंका गम्भीर आर्थिक संकटको चपेटामा परेपछि अन्तर्राष्ट्रिय ऋणदातासँग वार्ता सुरू गरेको थियो ।

सञ्चितिको अभाव र समस्याग्रस्त अर्थतन्त्रको कारण एक वर्षअघि १२ अप्रिल २०२२ मा श्रीलंकाले ५० अर्बभन्दा बढी वैदेशिक ऋण तिर्न नसक्ने घोषणा गरेको थियो।

श्रीलंकाको लागि ठूलो ऋण लगानी गरेको चीनले ऋण तिर्नको लागि पुनः संरचना गर्ने भएपछि आइएमएफले पनि ऋण प्रदान गर्ने सहमति जनाएकाले सहज भएको बताइएको छ।

ऋणको पुनःसंरचना र आइएमएफबाट आउने सहयोगको कारण डलर संकटबाट बाहिरिएको गभर्नर विरासिंघले बताएका छन्।

त्यस्तै श्रीलंकाको ऋणपत्र खरिद गरेका अन्तर्राष्ट्रिय लगानी कम्पनीहरू पनि कर्जा पुनर्संरचनाका लागि सहमत भएको बताइएको छ।

आइएमएफका एसिया प्यासिफिक निर्देशक कृष्ण श्रीनिवासनले चीनले गरेको ऋणको पुनस्संरचनाले ठूलो सहयोग पुगेको बताएका छन्।

सम्बन्धित खबरहरु