काठमाडौं । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाको सुनुवाइ बुधबार पनि स्थगित भएको छ ।

सर्वोच्च अदालतले बुधबार पेशीसूची प्रकाशित गरी संवैधानिक पदाधिकारी नियुक्तीसम्बन्धी १५ वटा रिट निवेदनको सुनुवाइ स्थगित भएको जनाएको छ ।

ओली सरकारको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारी विरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा २७ महिनादेखि विचाराधिन छ ।

संवैधानिक प्रावधानसँग बाझिने गरी अध्यादेश जारी भएको, सबै सदस्यहरुलाई सूचना नदिई संवैधानिक परिषदको बैठकबाट निर्णय भएको र संसदीय सुनुवाइविना नै पदाधिकारी नियुक्त गरिएको भनी सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले यी मुद्दाको सुनुवाइ अघि बढ्न दिनुभएको थिएन । उहाँको निलम्बनपछिका दुई प्रधानन्यायाधीशहरुले समेत मुद्दाको सुनुवाइलाई कम प्राथमिकता दिँदै आउनुभएको छ । यसअघि ३ फागुनमा यी मुद्दालाई पछाडि राखिएका कारण हेर्न नभ्याइने भनी स्थगित भएको थियो ।

 

सम्बन्धित खबरहरु