बाँके । बाँकेका थारु महिलाले हस्तकलाको संरक्षणबाट आयआर्जन गर्न थालेका छन् ।

हस्तकला उद्योग स्थापना गरेर संगठित भएका महिलाले हराउँदै हस्तकलाको सामग्री उत्पादन गरी व्यवसाय सञ्चालन गरेका छन् ।

जंगलबाट कुश अर्थात् खर ल्याएर यस्ता सामग्री बनाउँदै आएको पञ्चशील हस्तकला केन्द्रकी अध्यक्षसमेत रहेकी नेपालगन्ज–९, बाँकेगाउँकी हस्तकला उद्यमी निरु चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि न कसैको टोकाइ खानुपरेको छ न त कामको खोजीमा बाहिर जानुपर्ने बाध्यता छ ।’ उत्पादन गर्न लागेको समयको आधारमा सामानको मूल्य तोक्ने गरेको हस्तकला उद्यमी निरुले बताउनुभयो । उहाँका अनुसार थारु महिलाले रु.२० देखि रु.७ सय सम्मको सामान उत्पादन गर्दै आएका छन् । थारु हस्तकला व्यवसाय आम्दानीको राम्रो श्रोत बनेको उनको भनाई छ ।

थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदुरी गर्ने बाध्यताबाट मुक्ति मिलेको नेपालगन्ज–१२ की उद्यमी विह्या थारुले बताउनुभयो । केही वर्ष अघिसम्म थोरै रकम जोड्न समस्या थारु महिलाले आफैँले उत्पादन गरेका सामग्रीबाट राम्रो आम्दानी गरिरहेका छन् । थारु हस्तकला व्यवसायले हराउँदै गएको हस्तकलाको जगेर्नासमेत भएको उद्यमी विह्याको भनाई छ । उहाँले व्यवसायबाट सन्तुष्ट भएको बताउनुभयो ।

थारु हस्तकला उत्पादनसम्बन्धी तीन महिने तालिम लिएर व्यवसाय सुरु गरेकी विह्याले भन्नुभयो, ‘एकातिर हराउँदै गएको थारु हस्तकलालाई जीवन्त राख्न सहयोग भएको छ भने अर्कोतर्फ व्यवसायबाट राम्रो आम्दानी भएको छ ।’ उहाँले घरमै बसेर मासिक रु.१२ हजारसम्म आम्दानी भइरहेको बताउनुभयो । थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्रीहरुको खपतमा समेत समस्या नभएको उहाँको भनाई छ ।

मागअनुसार सामग्री पुर्याउन नसकिएको पञ्चशील हस्तकला केन्द्रले जनाएको छ । माग बढ्दै गएपछि सामान पु¥याउन नसकिएको बताउँदै केन्द्रकी अध्यक्ष निरुले आलोपालो गरेर सामान पु¥याउने गरिएको बताउनुभयो । मागअनुसार थारु हस्तकलाका सामान उत्पादन गर्न कठिन भएको नेपालगन्ज–९, बाँकेगाउँकी आरती चौधरीले बताउनुभयो । हस्तकलाको व्यवसाय सुरु नगर्दै फुर्सदिलो भए पनि अहिले फुर्सद मिलाउनै गाह्रो हुने गरेको उहाँको भनाइ छ । ‘टिभी हेरेर र साथीसंगीसँग गफगाफ गरेर दिन बित्थ्यो, तर अहिले एकछिन पनि फुर्सद हुँदैन,’ उहाँले भन्नुभयो ।

नेपालगन्ज–९, खट्कनपूर्वाकी सरिता चौधरीले पनि थारु हस्तकलालाई व्यवसाय बनाउनुभएको छ । उहाँले घरको काम धन्धा सकेर फुर्सदको समयमा थारु हस्तकलाका सामान बनाउने गरेको बताउनुभयो । थारु महिलाहरुले पेनहोल्डर, गमला, हट्केस, ज्वेलरी, डस्टबिन, ट्रे लगायतका सामान उत्पादन गरेर बजारमा पठाउँदै आएका छन् ।

थारु महिलाहरुले उत्पादन गरेका सामान नेपालगन्ज, काठमाडौं, पोखरा, बुटवल, अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा, डेनमार्क जस्ता देशमा जाने गरेका छन् । ‘केही विदेशमा गए पनि अधिकांश सामान काठमाडौंमै खपत हुन्छ,’ पञ्चशील हस्तकला केन्द्रकी अध्यक्ष निरुले भन्नुभयो । घरमा प्रयोग गर्नका लागि मात्र हस्तकलाका सामान बनाउने महिलाले अहिले यसलाई व्यवसाय बनाएको उहाँले बताउनुभयो । थारु महिलाहरुले थारु हस्तकलाको सीपलाई परिमार्जन गरी आधुनिक डिजाइनका सामग्री उत्पादन गर्न थालेका छन् । यसले उत्पादन भएका सामानले बजार पाउने गरेको छ । ‘हामीले पहिले पनि थारु हस्तकलाका सामान बनाउँथ्यौँ, तर पछिल्लो समय बजारमा पाइने आधुनिक र चलन चल्तीमा रहेका प्लास्टिक, तामा, सिसाका भाँडाजस्तै डिजाइनमा बनाउन थालेका छौँ,’ केन्द्रकी अध्यक्ष निरुले भन्नुभयो। उहाँका अनुसार थारु महिलाले उत्पादन गरेका सामान वातावरणमैत्री समेत छन् ।

सड्ने, गल्ने भएकोले देश, विदेशमा माग बढ्दै गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार देश, विदेशमा मात्र नभई मेला, महोत्सव र सहरमा हुने कार्यक्रममा पनि बिक्री हुने गरेको छ । नेपालगन्जमा हुने कार्यक्रम र सभा, सम्मेलनका अतिथिलाई उपहार दिनका लागि पनि थारु हस्तकलाका सामान प्रयोग हुन थालेको छ । नेपालगन्जका नागरिक समाजका अगुवा र उद्योगी, व्यापारीले थारु हस्तकलाको सामानलाई नेपालगन्जको पहिचानको रुपमा स्थापित गर्ने अभियानमा छन् ।

‘नेपालगन्जमा उपहारको रुपमा थारु हस्तकलाका सामान दिने संस्कारको विकास भएको छ, हामीले थारु हस्तकलाका सामानलाई नेपालगन्जको पहिचानको रुपमा स्थापित गर्ने अभियानमा छौँ,’ नेपालगन्जका व्यवसायी सञ्जय थापाले बताउनुभयो ।

सम्बन्धित खबरहरु