काठमाडौं । मन्त्रीपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलका शीर्ष नेताहरूसँग छलफल गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारमा फर्कने संकेत गरेको छ ।

रास्वपाले साविककै अवस्थामा उपप्रधान तथा गृहमन्त्रालय लिएर सरकारमा सहभागी हुनसक्ने जनाएको छ । गठबन्धनमा सामेल नभएको रास्वपाले चैत ६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

अध्यक्ष रवि लामिछानेले आफूलाई अहिले गृहमन्त्री बनाए बैशाखको चुनाव जितेर आउँने र लामो समयसम्म सरकारमा रहेर सहकार्य गर्ने प्रस्ताव राख्नुभएको छ ।

एमाले नेतृत्वको सात दलीय गठबन्धनमा हुँदा गृह मन्त्रालय नपाएर सरकारबाट बाहिरिएको रास्वपा अहिले सरकारमा जाने पक्षमा रहेको छ ।

नागरिकतासम्बन्धी मुद्दामा रवि लामिछाने पदमुक्त भएसँगै प्रधानमन्त्री प्रचण्डले पुनः गृह मन्त्रालय नदिने भनेपछि ४२ दिनमै रास्वपा सरकारबाट बाहिरिएको थियो ।

तर अहिले सरकारले नै रवि लामिछानेविरुद्ध दायर भएको फर्जी राहधानी सम्बन्धि मुद्धा अगाडि नबढाउने सरकारी निर्णयसँगै अब रविमा क्लिन चिट मिलेको छ । यो अवस्थामा मन्त्री पद दिन ठिक हुने सत्तारुढ दलकोपनि जोड भएका कारण रास्वपा सरकारमा जाने लगभग निश्चित छ ।

 

सम्बन्धित खबरहरु