काठमाडौं । पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले पूर्व प्रधानमन्त्री इमरान खानले राजनीतिलाई ‘दुश्मन’ मा परिणत गरेको बताएका छन् । राणा सनाउल्लाहका अनुसार पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख इमरान खानले स्थितिलाई कि आफू रहने कि हामी रहने अवस्थामा पुर्याएको आरोप लगाए ।

एक निजी टिभी च्यानललाई दिएको अन्तर्वार्तामा सनाउल्लाहले आफ्नो अस्तित्व बचाउन कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिएका हुन् । इमरान खानलाई आफ्नो पार्टीको ‘दुश्मन’ भन्दै उनले आफूसँग पनि ‘उस्तै व्यवहार’ गरिने बताएका छन् ।

राणा सनाउल्लाहले सत्ता गठबन्धनले आफ्नो अस्तित्व खतरामा रहेको महसुस गरेको खण्डमा आफ्नो प्रमुख प्रतिद्वन्द्वी (इमरान खान) विरुद्ध जुनसुकै हदसम्म जाने स्पष्ट पारेका छन् । पीटीआई नेता असद उमरले यो बयानमा आफ्नो प्रतिक्रिया दिएका छन् । असदले भने, ‘अदालतले यस विषयमा ध्यान दिनुपर्छ ।’

गत वर्ष नोभेम्बरमा पञ्जाबको वजिराबादमा इमरान खानमाथि आक्रमण भएको थियो । त्यसपछि उनले राणा सनाउल्लाहमाथि आक्रमण गरेको आरोप लगाउँदै आएका छन् । खानले प्रधानमन्त्रीसँगै अन्य धेरै अधिकारीहरूमाथि पनि आक्रमणको आरोप लगाउने गरेका छन् ।

गृहमन्त्रीका अनुसार इमरान खानको भनाइका कारण दुवै पार्टीका समर्थकबीच मतभेद उत्पन्न भएको छ । पाकिस्तानको अखबार डनले उनलाई उद्धृत गर्दै भनेको छ, ‘कि त उनी वा हामी (एक अर्काका समर्थकहरू मार्फत) मारिन सक्छौँ ।’

यस्ता अभिव्यक्तिले पाकिस्तानमा अराजकता निम्त्याउन सक्छ भन्ने प्रश्नमा गृहमन्त्री सनाउल्लाहले देश पहिलेदेखि नै अराजकताको अवस्था रहेको जानकारी गराए । पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आज इस्लामावाद उच्च अदालतमा उपस्थित हुँदैछन् ।

सम्बन्धित खबरहरु