काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमाले सत्ताका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको स्पष्ट गर्नुभएको छ ।

पार्टीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज धनगढी आउनुभएको उपाध्यक्ष पौडेलसमक्ष अहिलेको गठबन्धनको विकल्पमा एमाले लागेको छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले सो धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो, “अहिले एमाले सत्तामा जानकै लागि कुनै गठबन्धन बनाउने या भत्काउने पक्षमा लागेको छैन, पार्टीलाई थप बलियो बनाउने पक्षमा लागेको छ, त्यसैले हामी देशव्यापीरुपमा मिसन ग्रासरुट कार्यक्रममा छौँ ।”

तर उहाँले अहिलेको गठबन्धन भत्काउन चाहेमा एमालेले सक्ने पनि बताउनुभयो । उहाँको भनाइ थियो तर अहिले एमाले गठबन्धन भत्काउने र बनाउनेभन्दा पनि पार्टीलाई बलियो बनाउने अभियानमा लागेको छ ।

धनगढीमा प्रेस चौतारीले गरेको अन्तक्र्रियामा उहाँले आफ्नो पार्टीे सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेर बस्ने बताउनुभयो । एमालले अबको अर्को निर्वाचनमा बहुमत ल्याउने गरी अगाडि बढेको र हाल सशक्त प्रतिपक्षको भूमिकामा रहने उहाँले जानकारी दिनुभयो ।

अर्को प्रसङ्गमा उहाँले नेकपा एमालेको नेतृत्वबाट देशमा राजनीतिक स्थायित्व र समृद्धि प्राप्त हुने बताउनुभयो । पार्टीलाई ग्रामीण तहसम्म नै स्थापित गर्नका लागि एमालेले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको जानकारी उहाँले दिनुभयो ।

देश डरलाग्दो गरी अस्थिरतामा फसेको उहाँको भनाइ थियो । पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पौडेलले मुलुक अर्थतन्त्र समाल्न नसक्ने अवस्थामा पुगेको विश्लेषण भएको उहाँको भनाइ थियो ।

सम्बन्धित खबरहरु