काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क हर्क साम्पाङले आफ्नो कमजोरी स्वीकार गर्दै अब देखि टिममा विश्वास गर्ने बताउनुभएको छ ।

एक राष्ट्रिय अनलाइनलाई अन्तर्वार्ता दिँदै उहाँले भन्नुभएको छ, सबै एक्लै गर्छु मलाई कोही चहिन्न लाग्थ्यो, त्यो मेरो कमजोरी रहेछ ।

उहाँले अहिलेसम्म जनविश्वास जोगाएर राख्नुभएको छ तर धरानको कार्यपालिका टिममा भने मिल्न सकेका छैनन्। उहाँसँग विमति राखेर वडाध्यक्षहरू आन्दोलनमा हुनुहुन्छ । त्यसो त कार्यपालिका सदस्यहरू उहाँविरुद्ध एकताबद्ध भएको यो पहिलोपटक होइन।

तर अहिले आएर आफू कहिल्यै कमजोरी नगर्ने भन्दै आउनुभएका उहाँले यसपटक आफ्नो कमजोरी पनि स्वीकार गर्नुभयो । उहाँले आफ्नो श्रम अभियानले धरानको विकास अरू ठाउँको भन्दा दुई गुणा बढी दरमा भइरहेको दावी भने गर्नुभयो ।

अरू ठाउँमा बजेटको विकासमात्रै हुन्छ। बजेटको विकास जहाँ पनि हुन्छ। त्यो ठेकेदारले गर्ने विकास हो। ठेकेदारले गर्ने विकास जहाँ पनि हुन्छ। हो, ठेकेदारले गर्ने विकासमा पनि जनप्रतिनिधिको दायित्व र निगरानी चाहिन्छ।

हामी गरिरहेका छौँ। हरेक योजनालाई वर्षको अन्तिममा पुर्‍याउने प्रवृत्तिविरुद्ध म कठोर रुपमा पेश भइरहेको छु। हरेक काम समयमा गरौँ, गुणस्तरीय र छिटो छरितोरूपमा गरौँ भन्नेमा मेरो जबरजस्ती नै छ उहाँले भन्नुभयो ।

तर, मेयरले यसरी सधैँ ढुंगा बोक्ने, पाइप तान्ने काम गरेर, अरूलाई लगाएर मात्रै हुँदैन भन्ने आवाज चर्को छ। त्यसमा तपाईंको जवाफ के हुन्छ ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, मैले सुरुदेखि नै भन्दै आएको छु, मेयर भनेको जन्मदर्ता र बिहे दर्ता गरेर बस्ने पञ्जीकरण शाखाको कर्मचारी होइन। ऊ जनप्रतिनिधि हो।

धरानको नेतृत्वकर्ता हो। त्यो नेतृत्वकर्ताले नियमितरूपमा हुँदै आएका बाटो बनाउने, भवन बनाउने काममा अल्झेर बस्ने होइन। म त त्यस्ता कामलाई आफ्नो उपलब्धिमा जोड्दिनँ। हाम्रो श्रम अभियानले धरानमा नयाँ लहर ल्याएको छ। धरानवासी दाजुभाइ, दिदीबहिनीहरूलाई यहाँको विकासमा एकाकार भएर जोड्न सकेका छौँ।

जो विभिन्न कारणले मुलुकबाहिर बस्नुभएको छ, उहाँहरूलाई योगदान पनि गर्नुपर्छ भनेर जोडेका छौँ। म निर्वाचित भएर आएयताको छोटो अवधिमा उपमहानगरको कुनै लगानीबेगर नै १० देखि १२ करोडको सम्पत्ति संरचना जोडेका छौँ। अहिले पनि कोकाहाँबाट पानी ल्याउने अभियान सुरु भएको छ। यो अभियानलाई आर्थिक सहयोग गर्नेहरूको लर्को छ। यो धरानमा आएको ठूलो परिवर्तन हो। यो परिवर्तनको मूल्य बुझ्न म सबैलाई आग्रह गर्दछु।

तपाई एक्लै सबथोक गर्न सक्छु भन्नेहुन्छ ? यसरी हुन्न भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, यसलाई म स्वीकार्छु। हामीबीचमा केही असमझदारी भएको छ। अहिले वडाध्यक्षज्यूहरू आफ्नो अपमान भएको भनिरहनुभएको छ। म नियतवश कसैलाई अपमानित गर्ने, डोमिनेट गर्ने स्वभावको मान्छे होइन। म लामो समय एक्लै आन्दोलन गरेर आएको हुँ।

त्यसैले ममा आत्मविश्वास छ। काम गर्न साथी पनि नचाहिने हो कि जस्तो पनि लाग्छ कहिलेकाहीँ। त्यसक्रममा कहिलेकाहीँ कडा पनि देखिन्छु। तर, कसैलाई अपमान गर्ने, अन्याय गर्ने, हैकम जमाउने खालको मान्छे म होइन। अभिभावकीय भूमिकामा हुँदा कहिलेकाहीँ कठोर बन्नुपर्ने अवस्था आउँदोरहेछ।

तर म अब स्वीकार्छु, म एक्लैपनि गर्न सक्छु जस्तो लाग्थ्यो त्यो कमजोरी रहेछ । अब म टिममा विश्वास गर्छु ।

 

सम्बन्धित खबरहरु