धनुषा । जनकनन्दनी गाउँपालिका-५ बनरझुला चौकी अगाडिबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका-२ धनुषाधाम बस्ने ५५ वर्षीय जोगिन्द्र यादव र १९ वर्षीय कृष्ण साह रहेका छन् ।

ईलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी बल्हागोठबाट खटिएको संयुक्त टोलीले जयनगरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००३ प ७०४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भरुवा बन्दुक बरामद
रुकुम । सिस्ने गाउँपालिका-४ साउडेरा खोलाको ओढारबाट भरुवा बन्दुक ६ थान शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट धाउन्नेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
पाँचथर । कुम्मायक गाउँपालिका-४ तिलकेस्थित जंगलमा लागेको आगो फैलिएर सोही ठाउँस्थित टेक बहादुर सम्वाहाम्फेको घरमा बिहीबार दिउँसो आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन लगायतका सामान जलेर करिब १३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु