विदेश ताक्नेलाई न्युजिल्याण्डबाट मेरो जवाफ –विपन भण्डारी

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २१ माघ, २०७१

विपन भण्डारी / न्युजिल्याण्ड । सन् २०१४ डिसेम्बर महिनाको २७ तारिख यहाँ न्युजिल्याण्डको घडीमा रातको ११ बजेको थियो । म नजिकै रहेको ल्यापटपमा फेसबुक म्यासेजको नोटिफिकेसन घण्टी बज्छ, मेरो ध्यान ल्यापटतर्फ खिचियो, माउसको कर्सर फेसबुकमा क्लिक गरे । जहाँ मैले नेपालमा अत्यन्तै आदर गर्ने व्यक्तिको म्यासेज आएको देखे, हत्तपत्त रेस्पन्स गरिहाले, म्यासेजमा लेखिएको थियो, मलाई न्युजिल्याण्डको बारेमा केही बुझ्नु छ । त्यहाँ कस्तो छ म पनि विद्यार्थी भिषामा न्युजिल्याण्ड आउने सोचमा छु यहाँ कमाई नै भएन केही बर्ष बरु त्यही दुखः गरेर नेपाल फर्किउँला । म्यासेज पढिसकेपछि मेरो मन कताकता झस्किए जस्तो भयो ।

किनकी उहाँ नेपालको नाम चलेको बैकको म्यानेजर हुनुहुन्थ्यो । एकछिन सोचे, हुनत म पनि अरुले हेर्दा प्रतिष्ठित पेशा मै आवद्ध थिए । टेलिभिजन पत्रकारीतामा जमेरै काम गर्दा मेरो रवाफले कही कमी छ जस्तो कतिपनि देखाएकै थिएन । तर म पनि विदेशी भूमिमा अरुकै गुलाम गरिरहेको छैन । भलै म विद्यार्थी भिषामा आएको हैन, डिपेण्ड भिषा र स्टुडेण्ट भिषामा आकाश जमिनको फरक छ । भित्रभित्रै मनमा कुरा खेल्न थाल्यो, जवाफ पठाउनु भन्दा पहिले मनभित्र चलिरहेको खैलाबैलामै हराउन थालेछु । म यहाँ आएपछि मेरो फेसबुकको म्यासेजमा प्राय यस्तै खालका सन्देश आउन थालेको छ । हरेक दिन बिहान मैले सामाजिक सञ्जाल खोल्दा “त्यहाँको बारेमा जानकारी गराउनु प¥यो । म पनि त्यहाँ आउन चाहान्छु”  जस्ता सन्देशको सामना गरिरहेको छु ।

त्यहाँ भन्नाले न्युजिल्याड । म न्युजिल्याड आएको ६ महिना हुनै लागेको छ । यो बिचमा यस्तो सन्देश मलाई ७२ जनाले फेसबुक र भाईबरमा पठाई सकेका छन् । सन्देश पठाउने सबैको विदेश छिर्ने योजना छ । अर्को अचम्मको कुरा के छ भने, मलाई सन्देश पठाउने अधिकांशहरु नेपालमा राम्रो पेशामा सलंग्न छन् । कोही धेरै जसो त पत्रकार नै छन्, कोही चिकित्सक, वकिल, वित्तिय क्षेत्रमा राम्रै नाम कमाएक देखि शिक्षक, अधिकारकर्मी जो समाजमा राम्रै छवी बनाइसकेकाहरु पनि विदेश ताकिरहेका छन् ।अधिकांशको योजना बिद्यार्थी भिषामा आउने र पैसा कमाउने नै छ । त्यसैले आज मलाई प्रश्न गर्ने सबैलाई म यहाँबाट उत्तर दिने प्रयास गर्दै छु । बुटवल स्थायी घर भएका रमेश विष्ट (नाम परिवर्तन) पैसा कमाउन भन्दै बिद्यार्थी भिषामा न्युजिल्याण्ड छिरेको पनि आज साढे तिन बर्ष भइसकयो । उनले कोही नेपाली भेट्नै हुन्न, गुनासो गर्न थालिहाल्छन् । “जिन्दगीमा सबैभन्दा ठुलो भुल नै बिदेशीनु हो । यही भूलले आज मेरो जीवन पछुताइरहेको छ”  रमेश गुनासो सुनाउछन् । “नेपालबाट आउँदा केही पैसा लिएर आएको थिए । त्यही पैसाले ६ महिना सम्म राम्रैसँग बसे, घरबाटै आएको पैसाले गाडि पनि किनेको थिए । पछि काम नपाएपछि घरभाडापनि तिर्न सकिन, महिनौ दिन भयो मेरो सडकमै बास छ” रमेशले दुखेसो पोखे ।

“ठुलो शहर सडकमा सुत्न पाइन्न, कुनै गल्लि खोजेर गाडि पार्किङ गर्छु त्यही गाडि भित्र रात विताएको आज ४ महिना वित्यो” गहभरी आँसु बनाउदै रमेश बोलिरहेका थिए । म उनलाई नै हेरेर टोलाइरहेको थिए । यो त प्रतिनिधि आवाज मात्र हो मैले न्युजिल्याण्डमा बिद्यार्थी भिषामा आउने गरेका अधिकांशका वेदनाका यस्तै स्वरमा सुन्ने गरेको छु । उनीहरु सबैको भनाई छ विद्यार्थी भिषामा विदेश छिर्नु भनेको दुखको भवसागरमा छिर्नु बराबर हो । बिद्यार्थीलाई यहाँको सरकारले हप्तामा २० घण्टा काम गर्न अनुमति दिएको छ । त्यो भन्दा बढी समय काम गरेको पाईयो भने सरकारले त्यो बिद्यार्थीलाई नेपाल नै फर्काउने गर्दछ । हप्तामा २० घण्टा मात्र काम गरेर यहाँ टिक्ने सम्भावना नै छ । विदेशमा छोराछोरी पढाउनका लागि पैसा पठाउन सक्ने क्षमता भएका नेपाली परिवार कति नै छन् । यही कारण कयौँ नेपाली युवायुवातीहरुको भविष्य नै डामाडोल भइरहेको छ ।

कास्कि पोखरा ९ घर, कुमार गुरुङ्ग नाम बताउने एक युवा अहिले न्युजिल्याण्डको सडकमा एक्लै बर्बराई रहेको भटिन्छन् । उनको बास्तविक नाम र ठेगाना यो हैन । यहाँको नेपाली समाजले धेरै पटक उनले बताए अनुशार को नाम र ठेगाना खोजि गर्दा पत्ता नलागेपछि उद्धार गर्नपनि सकेको छैन । उनको कुरा सुन्दै आएकाहरुका अनुशार विद्यार्थी भिषामा न्युजिल्याण्ड छिरेर उनले कलेजको नियम अनुशार काम गर्दा खान नपुगेपछि केही बढी समय काममा खर्च गरे । त्यो प्रशासनले थाहा पाएपछि उनलाई रेष्टिकेट गरिदियो । उनलाई नेपाल फर्काउन न्युजिल्याण्ड सरकारले खोजी गर्दै गर्दा सबै कागजपत्र फ्याँकेर वेपत्ता भए । पछि कही काम नपाएपछि उनी फेरी तिनै सडकमा भौतारीन थाले । अहिले उनी मानसिक रोगी बनेका छन् जसले गर्दा केही सही कुरा छुट्याउन सकिदैन । यहाँको नेपाली समाजको तथ्याङ्क अनुशार अहिले पनि यहाँ धेरै अवैधानिक रुपमा भागेर काम गर्न थाल्नेहरुको संख्या बढिरहेको छ । प्रशासनले फर्काउने प्रक्रिया सुरु ग¥यो भने, उनीहरु भागेर काम गर्ने सोचमा पुग्छन् । जसले गर्दा उनीहरु अलपत्र पर्ने गर्दछन् ।

जुन कदम जीवन नै अलपत्र हुने हो । आफ्नो देशको मर्यादित पेशा छोडेर जीवन अलपत्र बनाउने की उज्जवल भविष्य रोज्ने मैले नाम उल्लेख नगरेका तर मलाई म्यासेज पठाउनेहरुलाई यहीबाट यही रिप्लाई दिएको छु । लेखक नेपालमा रहदा टेलिभिजन पत्रकार हुन् ।

सम्बन्धित खबरहरु

लागूऔषधसहित पक्राउ
  • सोमबार ५ असोज, २०७७
शेयर कारोवार ओरालो लाग्यो
  • सोमबार ५ असोज, २०७७
दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७