Baburam_Bhattarai
जनबोली/ २१ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले संविधान सभालाई आत्मा मरिसकेको संज्ञा दिएका छन् ।  प्रस्तावित नेवाः र ताम्सालिङ राज्य समितिका अगुवा कार्यकर्तालाई बुधबार प्रशिक्षण दिँदै संविधानसभाको आत्मा मरिसकेकाले अब ब्युँताउने सम्भावना झिनो रहेको धारणा राखेका छन् ।

यसले आम जनमानसमा सन्त्रास फैलाउने छ । डा. भट्टराई नेपाली जनमानसमा आशलाग्दा नेता हुन् ।

संविधानसभालाई फेरि जनताको पक्षमा ल्याउन र जनताको संविधान जारी गर्ने अन्तिम प्रयासका लागि जनतामाझ जाने निर्णय गरेको भट्टराईले बताए ।

भट्टराईले भने ‘सहिद, वेपत्ता र घाइते योद्धाहरुको बलिदानस्वरुप प्राप्त संविधानसभा अब जनताको पक्षमा रहन्छ की रहँदैन भनेर अन्तिम फैसला केही हप्ता, केही महिनाभित्र हुनेवाला छ ।’

आफूहरुको असहमति हुँदा हुँदै संविधानसभा अध्यक्ष सुवास नेम्वाङले जबजस्ती बहुमतीय प्रक्रिया अघि बढाएर संवैधानिक कू गरेको भन्दै भन्दै उनले त्यही दिनदेखि संविधानसभाको आत्मा मरेको टिप्पणी गरे ।

त्यसको आत्मा व्युँझाउन पुरानो क्रान्तिकारी जोस र उमंग सहित आन्दोलनमा उत्रिन उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।

‘संविधानसभालाई अघोषित ब्यारेकमा परिणत गरेर निर्वाचित मतदानको प्रक्रिया अघि बढाइसकेपछि यसको आत्मा र्मयो, खोलमात्रै बाँकी रह्यो,’ भट्टराईले भने, ‘तपाईं हामीले पुरानो क्रान्तिकारी जोस उमंग प्रदर्शन गरेर प्रतिगामी यथास्थितिवादी शक्तिहरुलाई झुकायौं र यीनीहरुले अपहरण गरेको संविधानसभा जनताको पक्षमा ल्याउन सक्यौं भने झीनो सम्भावना रहन्छ, तर सम्भावना यतिबेला असाध्यै न्यून बन्दै गएको मैले देखेको छु ।’

माघ २१ गते आजकै दिन आफूले तत्कालीन जनमोर्चा हुँदा सरकारलाई ४० बुँदे माग पेस गरेर पश्चिम नेपालका जिल्ला हिँडेको र पूरा नभएपछि फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको स्मरण गर्दै भट्टराईले अहिले पनि आफू आन्दोलनका लागि पश्चिम जिल्ला जान लागेको जानकारी गराए ।

सम्बन्धित खबरहरु