जनबोली / २१ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले कागजको बाघ रुपी सत्ता पक्षसँग आफूहरुको जीत भएको घोषणा गरेका छन् । उनले काठमाडौंसँगै मधेस र लिम्बुवानको शक्तिले कागजको बाघरुपी सत्ताधारीहरुलाई हराएरै छोड्ने दावी समेत गरे ।
भृकुटीमण्डपमा बुधबार आयोजित ‘मध्य कमाण्ड विशेष प्रशिक्षण’मा प्रचण्डले भने–जनताको तागत उठाएर आएपछि उनीहरु भाग्नुको विकल्प अब छैन ।’
आन्दोलनका लागि मध्य कमाण्डका इञ्चार्जसमेत रहेका प्रचण्डले आन्दोलनको जितको आधार काठमाडौं भएको बताए । ‘यतिबेला कोही चुक्नु हुँदैन’ उनले भने–‘काठमाडौं मोर्चालाई निर्णायक बनाएर लड्नुपर्छ ।’
आन्दोलनका क्रममा कोही मारिन पनि सक्ने, जेल जानुपर्ने तथा अङ्गभङ्ग हुन सक्ने भन्दै प्रचण्डले त्यसका लागि तयार रहन नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।
एमाओवादी अध्यक्ष प्रचण्डले जितको दोस्रो आधार मधेस भएको बताए । पहिचान सहितको संघीयता नभएकोमा मधेसमा ठूलो आक्रोश रहेको विश्लेषण गर्दै उनले भने– ‘काठमाडौं सुत्दा मधेस जागिसकेको छ, आवेग र आक्रोस पैदा भएको छ । त्यहाँ ठूलो आक्रोस मैले देखेको छु ।’
त्यसैगरी विजयको तेस्रो मोर्चा लिम्बुवान भएको प्रचण्डले कार्यकर्तालाई सुनाए । ‘हाम्रो जित सुनिश्चित छ, म हिँडे’ उनले भने–‘धेरै आरोपहरु लगाइएको छ । तर, मैले भनेको छु हाम्रो नेतृत्वका लागि यो अवसर हो ।’
आफूले आन्दोलन गर्छु भन्दा धेरैले नपत्याएको स्मरण गर्दै प्रचण्डले भने– ‘सात दल, १९, २२ दल बनाएँ, रोल्पा गएँ, मधेस गएँ । पत्याउने थोरै छन् । केहीलाई मैले भन्ने गरेको छु, टाउको फुटाएपछि पत्याउनुहुन्छ ।’
आफ्नो सक्रियतालाई केहीले राष्ट्रपति हुन होला भनेको सुनाउँदै एमाओवादी अध्यक्ष प्रचण्डले शीतलनिवास जानु भनेको जेल जानुजस्तै भएकाले आफू जेल जान तयार नभएको बताए ।
‘राष्ट्रपति भनेको खोपीको देउता जस्तै हो’ उनले भने–‘कसैलाई जनताबाट कटाउन, पार्टीबाट हटाउनुपर्यो भने राष्ट्रपति बनाउने हो ।’
अर्को प्रशंगमा अध्यक्ष प्रचण्डले जनतामा जाने अवसर दिएको भन्दै प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।
सुशील र ओलीका कारण १९ वर्षपछि कमान्ड बनाएर आफूले त्यसको नेतृत्व गर्न पाएको प्रचण्डले बताए ।
द्वन्द्वकालमा तत्कालीन राजाले वार्ता गर्न नमान्दा छिट्टै गणतन्त्र आएको भन्दै उनले अहिले कोइराला र ओलीले विगतका सहमतिअनुसार संविधान बनाउन नमानेका कारण जनतामा जानुपरेको बताए । उनले भने ‘विचलित भएका थियौं, प्रतिक्रिया वादीहरुले ट्रयाकमा ल्याउने काम गरे, जनतामा गएर धन्यवाद दिनुपर्छ ।’