जनबोली/२२ माघ, काठमाडौ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले घोषित आन्दोलनलाई निर्णायक बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
भृकुटीमण्डपमा आज आयोजित एमाओवादी मध्य कमाण्डस्तरीय विशेष प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आउँदो फागुन १६ गते गरिने विरोधसभालाई सफल पार्न आ–आफ्नो जिम्मेवारीका साथ लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
सत्तारुढ दलले संविधानसभाबाट आफूहरुलाई पाखा लगाउन खोजेको आरोप लगाउँदै अध्यक्ष दाहालले आन्दोलनको बलबाटै त्यसलाई फर्काउने दाबी गरे ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी आन्दोलनको कार्यदिशामा अघि बढिसकेकाले सबै शक्ति एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । वरिष्ठ नेता डा बाबुराम भट्टराईले जनताको आन्दोलनबाट मात्रै संविधानसभालाई बचाउन सकिने बताए ।
प्रशिक्षणमा एमाओवादीको नेवाः र ताम्सालिङका अगुवा कार्यकर्ताको सहभागिता थियो ।