जनबोली/२२ माघ, काठमाडौ । दलहरुबीच धुव्रीकरण हुँदा संविधानसभा अप्ठ्यारोमा परेको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आजका लागि बोलाइएको संविधानसभा बैठक एकीकृत नेकपा माओवादी नेतृत्वको विपक्षी गठबन्धनले भाग नलिने निर्णय गरेपछि उनीहरुको सहभागिता बिना बैठक बस्ने भएको छ ।
सहमतिमा मात्र संविधान निर्माण प्रक्रिया अघि बढाउनुपर्ने अडानमा रहेको एमाओवादी नेतृत्वको मोर्चा र सहमति नभए प्रक्रियाबाट भए पनि संविधान जारी गर्नुपर्ने नेपाली काँग्रेस र नेकपा एमालेलगायतका दलको अडानले संविधानसभा इतिहासमै पहिलो पटक अवरोध, तोडफोड र वहिष्कारको अवस्थासम्म पुगेको थियो ।
काँग्रेस, एमालेलगायतका दलका ४९ सदस्यले बैठक बसेर समितिको कार्य अघि बढाए पनि एमाओवादी र मधेसवादी दलहरुले भने बैठक बहिष्कार गर्दै आन्दोलनको घोषणा गरेपछि संविधानसभा मात्र नभई त्यस अन्तर्गतको समिति पनि पूर्ण हुन सकेको छैन । प्रक्रिया अगाडी बढे पनि अन्यौलता भने चिर्न सकेको छैन ।