पाल्पाको विद्यालयलाई चार करोड बढी भारतीय सहयोग

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २२ माघ, २०७१

जनबोली/२२ माघ, काठमाडौं । भारतीय दूतावासले नेपाल–भारत आर्थिक सहयोग कार्यक्रम अन्तर्गत पाल्पाको तानसेनमा अवस्थित श्री लक्ष्मी उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

उक्त विद्यालयका लागि सहयोग गर्न गत सोमबार जिल्ला विकास समिति पाल्पा र भारतीय राजदूतावास विच सम्झौता भएको छ । ४ करोड ३५ लाख ७० हजार रुपैयाँको लागतमा निर्माण हुने उक्त विद्यालयको भवन निर्माणका लागि सम्पूर्ण सहयोग भारत सरकारले गर्ने छ । भवन निर्माणको लागि नेपाल–भारत आर्थिक सहयोग कार्यक्रम अन्तर्गत भारत सरकारले सहयोग प्रदान गर्दैछ ।

दूतावासले जारी गरेको विज्ञप्ति अनुसार विद्यालयमा हाल उपलव्ध पूर्वाधार जीर्ण तथा सवै विद्यार्थीहरुलाई अटाउन अपर्याप्त रहेको छ । नयाँ भवनबाट करीव ५० प्रतिशत छात्रा सहित १२ सय भन्दा बढी वालवालिकाहरुलाई विद्यालयमा अत्यावश्यक कक्षा कोठाहरु उपलब्ध भै सहज शैक्षिक वातावरण सृजना हुनुको साथै जिल्लाको शैक्षिक विकासमा योगदान पुग्ने बताईएको छ ।

दूतावासले यो बाहेक पनि पाल्पामा २ करोड ५३ लाख रुपैयाँको सहयोगमा दुईओटा परियोजनाहरु सम्पन्न भैसकेका छन् भने १७ करोड ७७ लाख रुपैयाँमा अन्य पाँचओटा परियोजनाहरुको निर्माण कार्य जारी रहेको छ । यस्तै, भारत सरकारले सातओटा एम्वुलेन्स र एउटा स्कूल बस समेत यस जिल्लालाई प्रदान गरिसकेको छ । यस बाहेक नेपाल भरिका २ सय ३८ भन्दा बढी शैक्षिक संस्थाहरुले भारत सरकारको ६ सय ३३ करोड ७० लाख रुपैयाँको सहयोग प्राप्त गरिसकेको दूतावासले जनाएको छ ।

भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत संचालन हुने परियोजना नेपालका लगभग सबै जिल्लाहरुलाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि हालै कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूला तथा साना ५ सयभन्दा धेरै परियोजनाहरुको लागत  ७ हजार ५ सय करोडभन्दा बढी रहेको बताईएको छ । यी विकास परियोजनाहरु स्थानीय आवश्यकताअनुरुप नेपाल सरकारको साझेदारीमा सञ्चालन गरिएका छन् ।

सम्बन्धित खबरहरु