schoolघोराही । दाङका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको छ । जिल्लाका केही प्राथमिक विद्यालयमा २ दर्जनभन्दा कम विद्यार्थी रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क छ । ५ वर्षअघिको तुलनामा त्यस्ता प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या ३५ प्रतिशत घटेको छ । आर्थिक वर्ष २०६३/६४ मा जिल्लाका प्राथमिक तहका विद्यालयमा ८३ हजार ६ सय २९ विद्यार्थी भर्ना भएका थिए । चालू आर्थिक वर्ष २०७१/७२ मा यो सङ्ख्या घटेर ५४ हजार ४ सय ८ पुगेको तथ्याङ्कले देखाएको छ । उक्त अवधिमा प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या २९ हजार २ सय २१ घटेको छ । वर्षेनि जनसङ्ख्या बढे पनि प्राथमिक तहमा विद्यार्थीको सङ्ख्या घट्नुले सामुदायिक विद्यालयको गुणस्तर खस्केको स्पष्ट हुन्छ ।

अङ्ग्रेजी माध्यमको पढाइप्रति आकर्षण बढेकाले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको जिल्ला शिक्षा अधिकारी प्रह्लाद अर्यालले बताए । कार्यालयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न पहल शुरू गरेको उनले जानकारी दिए । ‘अहिले हामीले सघन अनुगमनमार्फत शिक्षकलाई पठनपाठन सुधारका लागि आग्रह गरिरहेका छौं,’ उनले भने, ‘नजिकमा पायक पर्ने केही विद्यालयलाई मर्ज गर्ने तयारी भइरहेको छ ।’ विगतको तुलनामा अहिलेको तथ्याङ्क व्यवस्थित भएकाले पनि विद्यार्थी सङ्ख्या कम देखिन सक्ने उनको भनाइ छ । नगरआसपासका केही विद्यालयले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरेर विद्यार्थी सङ्ख्या पुनः बढाउन थालेका छन् । अहिले सरकारले नीतिगत रूपमै सामुदायिक विद्यालयलाई अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्न अनुमति दिएको    छ । तर, कक्षा सञ्चालनका लागि सरकारले थप दरबन्दीको व्यवस्थापन नगर्दा जनशक्तिको सम्पूर्ण व्यवस्थापन स्वम् विद्यालयले गर्नुपर्ने उनले जानकारी दिए ।

पूरा समय पढाउँदैनन् शिक्षक
दाङका अधिकांश सरकारी विद्यालयले निर्धारित समयभन्दा कम कक्षा सञ्चालन गरेको पाइएको छ । जिल्ला शिक्षा कार्यालय, दाङले गरेको सघन अनुगमनको क्रममा जिल्लाका प्राथमिक विद्यालयहरूमा सरकारले निर्धारण गरेको समयभन्दा साढे १ घण्टासम्म कम कक्षा सञ्चालन गर्ने गरेको तथ्य खुलेको  हो । नेपाल सरकारको नियमअनुसार बिहान १० बजेदेखि ४ बजेसम्म कक्षा सञ्चालन गर्नुपर्छ । उक्त ६ घण्टामध्ये ३० मिनेट मध्यान्तर र १५ मिनेट प्रार्थनाका लागि समय निर्धारण गरिएको छ । पढाइ हुने समय ५ घण्टा १५ मिनेटमात्र हो । तर,  प्राथमिक तहका विद्यालयमा साढे ३ बजे नै कक्षा बन्द गरिएको पाइएको जिल्ला शिक्षा अधिकारी प्रह्लाद अर्यालले बताए । उनले भने, ‘केही विद्यालयहरूले प्रार्थनासमेत नगराउने गरेको पाइएको छ ।’ शिक्षा कार्यालयले गत कात्तिकदेखि हालसम्म २३ ओटा विद्यालयमा अनुगमन गरेको छ । यीमध्ये पाँचओटा प्राथमिक तहमा मात्र पूरै कक्षा सञ्चालन भएको भेटिएको उनले बताए । ‘साढे ३ बजे विद्यालय पुग्दा शिक्षक तथा विद्यार्थीहरू भेटिँदैनन्,’ अर्यालले भने, ‘विभिन्न बहानामा निर्धारित समयभन्दा १ घण्टाअघि नै कक्षा बन्द गर्ने गरिएको पाइएको छ ।’ त्यस्तै, जिल्लाका अधिकांश माध्यामिक विद्यालयमा पनि पूरा समय पढाइ नहुने गरेको उनले जानकारी दिए । प्राथमिक तहका विद्यालयको तुलनामा माध्यमिक तहमा केही बढी समय कक्षा सञ्चालन भए पनि सरकारले निर्धारण गरेअनुसार सञ्चालन नभएको हो । अनुगमनमा जिल्ला शिक्षा अधिकारी, सहायक जिल्ला शिक्षा अधिकारी, विद्यालय निरिक्षक, स्रोतव्यक्ति तथा आर्थिक प्रशासनका कर्मचारीहरू सहभागी थिए । अनुगमनमा कैफियत देखिएका विद्यालयमा शिक्षा कार्यालयबाट सुधारका लागि निर्देशनसहितका पत्र पठाइएको अर्यालले जानकारी दिए ।

सम्बन्धित खबरहरु