२३ माघ, काठमाडौं । दक्षिण एसिया सहित १५ देशका तेस्रोलिंगी र हिजरा समूदायले तेस्रोलिंगीहरुको स्वास्थ्य र अधिकारका लागि आ-आफ्ना देशका सरकारको ध्यानाकर्षण गराउने भएका छन् ।
काठमाडौंमा भएको तीन दिने तेस्रोलिंगी र हिजरा समूदायको परामर्श बैठकले तेस्रोलिंगी र हिजरा समूदायको स्वास्थ्य र अधिकारका लागि आ-आफ्ना देशका सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष निकालेको हो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीको सहयोगमा समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले आयोजना गरेको बैठकले चिकित्सकको सल्लाह बिना हर्मोन प्रयोग नगर्न विश्वभरका तेस्रोलिंगीलाई आग्रह पनि गरेको छ ।
नेपालसहित भारत, पाकिस्तान र बंगलादेशमा तेस्रोलिंगीको पहिचान प्राप्त भएपनि बृत्ति विकास, समान अवसर भने अझै प्राप्त हुन नसकेको निष्कर्ष बैठकले निकालेको नील हिरा समाजकी कार्यबाहक निर्देशक मनिषा ढकालले बताइन् । बैठकले तेस्रोलिंगीहरुको स्वास्थ्य सम्वन्धमा ब्लुप्रिन्टको मस्यौदा पनि तयार गरेको छ । ब्लूप्रिन्टले भविष्यमा तेस्रोलिंगी र हिजराहरुको स्वास्थ्य सम्वन्धि नीति निर्माण गर्ने प्रक्रियामा वकालतको भूमिका निर्वाह गर्ने छ ।
तेस्रोलिंगी र हिजराहरुको परिवार, प्रहरी प्रशासन र समाजबाट मानवअधिकार हनन् हुने गरेको निष्कर्ष सहित बैठकले मानवअधिकार हनन् हुन नदिन सरकार, प्रहरी प्रशासन र मानवअधिकार आयोग मिलेर काम गर्नु पर्नेमा जोड दिएको छ ।
साथै बैठकले दक्षिण एसियाका अरु देशको तुलनामा नेपालमा तेस्रोलिंगीले सहज रुपमा पहिचान पाउने गरेको र अरु देशमा पनि नेपालको जस्तै पहिचान पाउनका लागि उदाहरण सहित प्रस्तुत हुनु पर्ने निष्कर्ष निकालेको छ ।
बैठकमा नेपालका तेस्रोलिंगी महिला र तेस्रोलिंगी पुरुष सहित १० जनाको सहभागिता थियो भने भारत, पाकिस्तान, भुटान, बंगलादेश, मलेसिया, चीन, थाइल्याण्ड लगायत १५ देशमा झण्डै ६० जना तेस्रोलिंगी र हिजराहरुको सहभागिता थियो ।