parmanda jhaजनबोली/माघ २३, काठमाडौ । उपराष्ट्रपति परमानन्द झा श्रीलङ्काको ६७औँ राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा हिजो साँझ आयोजित स्वागत समारोहमा सरिक भएका थिए ।

त्यस अवसरमा नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एम सेनिभिरथ्नाले श्रीलङ्का र नेपालबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै दुई देशबीच १३ वटा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको बताए ।

उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)ले श्रीलङ्का र नेपाललाई मात्र नभई अन्य सदस्य मुलुकलाई यस क्षेत्रका जनताको कल्याणका निम्ति एकै स्थानमा समाहित गरेको बताए ।

गत मंसिरमा काठमाडौँमा सम्पन्न सार्कको १८औँ शिखर सम्मेलनले सार्क मुलुकलाई अझ निकट ल्याएको बताउँदै श्रीलङ्का र नेपालबीच साझा चासोका धेरै क्षेत्रमा काम गर्न सकिने प्रशस्त सम्भावना रहेको राजदूत सेनिभिरथ्नाले उल्लेख गरे ।

उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, संविधानसभा सदस्य, पूर्वमन्त्री, संवैधानिक अङ्गका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, यहाँ स्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकृत, उद्योगपति, व्यापारी, कामको सिलसिलामा नेपालमा बसोबास गर्दै आएका श्रीलङ्काली नागरिक तथा वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

सम्बन्धित खबरहरु