‘एकीकृत साकोस प्रणालीतर्फ : आज र पछि पनि-सहकारी गोष्ठी

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २३ माघ, २०७१

जनबोली/ काठमाडौ ।  सहकारीका विश्वव्यापी असल अभ्यासबारे ज्ञानको आदानप्रदान गर्ने उद्देश्यले दुईदिने ‘दोस्रो साकोस बचत तथा ऋण सहकारी शिखर गोष्ठी’ शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदै छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)ले आयोजना गरेको गोष्ठीमा बिभिन्न बैंक तथा सहकारी संस्थाका प्रतिनिधि, सरकारी अधिकारी समेत गरी ५ सय जनाको सहभागिता रहने छ । ‘एकीकृत साकोस प्रणालीतर्फ : आज र पछि पनि…’ भन्ने मूल नाराका साथ हुने दोस्रो साकोस शिखर गोष्ठीका लागि सहकारी मन्त्रालय तथा सहकारी विभागबाट साझेदारी हुने छ । साथै अष्ट्रेलिया, थाइल्याण्ड र श्रीलंकाका प्रतिनिधिको समेत सहभागिता रहने छ ।

कार्यक्रममा बचत तथा ऋण सहकारीमा नेटवर्क व्यवस्थापन, वित्तीय साक्षरता, वित्तीय पहुँचका लागि औजार, महिला सशक्तिकरण, कृषिवित्त, उद्यमशीलता लगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेले जानकारी दिए । नेफ्स्कूनमा १४ अञ्चलका ७२ जिल्लाबाट दुई हजार २ सय २३ वटा प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था र ५७ वटा जिल्ला संघ गरी जम्मा दुई हजार २ सय ८० वटा बचत तथा ऋण सहकारी  आबद्ध छन् । नेफ्स्कूनमा आबद्ध सदस्यहरू १८ लाखभन्दा बढी रहेको र ती सदस्यहरूको कुल पुँजी करिब एक खर्ब २५ लाख रहेको अनुमान गरिएको छ । सो रकम सदस्यहरूलाई नै उत्पादनमूलक एवम् रोजगारीमूलक कार्यक्रममा ऋण लगानी गरिएको छ ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७