
ह्यामस्ट्रिङको शल्यक्रिया तथा पिठ्युँको पुरानो चोटमुक्त हुन संघर्ष गरिरहेका ३३ वर्षे क्लार्क गत साता सजिलो अवस्थामा रनआउट भएका थिए।
‘मेरो विचारमा यो प्रश्न मेडिकल स्टाफलाई सोध्नुपर्छ,’ विश्वकपको उपलब्धताबारे सोधिएको प्रश्नमा क्लार्कले भने, ‘मैले पहिलो दिनदेखि नै चिकित्सकको निर्देशन पछ्याइराखेको छु र उनीहरूको देनले आज यो अवस्थामा छु। त्यसैले म उनीहरूप्रति कृतज्ञ छु। तर अझैसम्म पूरा फिट भएर उच्चस्तरमा खेल्न सक्नेमा भने आफै निश्चित हुन सकेको छैन।’
ब्रिसबेन, अकल्यान्ड र पर्थसम्मको लामो यात्रा गर्नुपर्ने भएकाले सबै खेल खेल्न नपाउने चिन्ताले क्लार्कलाई सताएको छ। ‘पहिल्लो ६ महिनामा धेरै समय मैदान बाहिर रहेँ,’ उनले भने, ‘चाँडोभन्दा चाँडो अस्ट्रेलियाका लागि प्रत्येक खेल खेल्न सक्नेगरी पुनरागमन जनाउन चाहन्छु।’
अस्ट्रेलिया–११ र बंगलादेशबीच मंगलबार भएको खेलमा क्लार्कले दुई ओभर बलिङ गरे भने ब्याटिङमा ३४ रन बनाए। क्लार्कले गत साता सिड्नीको स्थानीय टिमबाट खेल्दै ५१ रन बनाएका थिए। डिसेम्बरमा भारतविरुद्धको टेस्ट शृंखला खेल्दा उनलाई ह्यामस्ट्रिङ भएको थियो।
अस्ट्रेलियन क्रिकेट बोर्डले बंगलादेशविरुद्ध फेब्रुअरी २१ मा हुने खेलमा क्लार्कलाई फिटनेस प्रमाणित गर्ने मौका दिने भएको छ।
अस्ट्रेलियाका प्रशिक्षक डारेन लेहम्यानले क्लार्क सोचेभन्दा अघि खेलमा फर्किन सक्ने अपेक्षा गरे। क्लार्क कप्तानका रूपमा फर्किएपछि उनले मध्यक्रमका ब्याट्सम्यान हटाउनुपर्ने हुन्छ।