
अस्ट्रेलियाका पूर्वब्याट्सम्यान माइक हसीले दक्षिण अफ्रिकी टोलीलाई साथ दिने खबर सार्वजनिक भएको केही घन्टापछि आयरल्यान्डले हालै सबैखाले क्रिकेटबाट संन्यास लिएका लीको आबद्धता घोषणा गरेको थियो।
क्रिकेट आयरल्यान्डले विज्ञप्ति जारी गर्दै ३८ वर्षे लीले छोटो समयको सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ। क्रिकेट विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डमा फेब्रुअरी १४ बाट हुँदैछ।
ली आफ्नो पुस्ताका सफल तीब्र गतिका बलरमध्ये एक हुन्। ७६ टेस्ट खेल्दा उनले ३ सय १० विकेट लिएका थिए। त्यस्तै २ सय २१ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ३ सय ८० विकेट लिएका छन्। लीको अनुभवले आफ्नो टोलीलाई फाइदा पुग्ने विश्वास आयरल्यान्डका प्रशिक्षक फिल सिमोन्सले लिएका छन्। आयरल्यान्ड लगातार तेस्रोपटक विश्वकप खेल्ने तयारीमा छ।
‘तीब्र बलिङमा ब्रेट लीसँग अविश्वसनीय ज्ञान छ। अस्ट्रेलियन पिचबारे उनलाई राम्रो ज्ञान छ। समूह चरणको खेलअघि उनको सहयोगले हाम्रा बलरको मनोबल उच्च हुनेछ,’ सिमोन्सलाई उद्धृत गर्दै क्रिकेट आयरल्यान्डले विज्ञप्तिमा भनेको छ,’ ‘दुईपटकका विश्वकप विजेता लीको अनुभवले हाम्रा बलरलाई फाइदा पुग्नेमा म विश्वस्त छु।’
वेस्ट इन्डिजका पूर्वब्याट्सम्यान सिमोन्सले थपे, ‘एउटा क्रिकेट हस्तीसँग हाम्रा बलरका लागि सिक्ने राम्रो अवसर हो। मलाई पूर्ण विश्वास छ, हाम्रा बलरले त्यसको फाइदा उठाउने छन्।’
अघिल्लो महिना मात्र लीले सबैखाले क्रिकेटबाट संन्यास घोषणा गरेका थिए। अस्ट्रेलियन घरेलु क्रिकेटको आफ्नो अन्तिम खेलमा उनी ह्याटि्रक विकेट लिनबाट चुकेका थिए।
त्यसअघि दक्षिण अफ्रिकी प्रशिक्षक रुसेल डोमिन्गोले ३९ वर्षे हसीले टोलीमा सल्लाहकारको भूमिका निर्वाह गर्ने जानकारी दिएका थिए। ७९ टेस्ट खेलेका हसीले सन् २०१३ मा क्रिकेटबाट संन्यास लिएका थिए। एकदिवसीय क्रिकेट हस्ती मानिने हसीले १ सय ८५ खेलमा ४८.१५ को औसतमा रन बनाएका थिए।
‘सल्लाहकारमा हाम्रोे टिममा आबद्ध हुने विषयमा हसीसँग केही छलफल भएको छ,’ डोमिङ्गोले भने, ‘उनी मध्यपंक्तिका ब्याट्सम्यान थिए। त्यसमा उनलाई राम्रो अनुभव छ। अस्ट्रेलियाको अवस्थाबारे हसीलाई राम्रो जानकारी छ। उनले हाम्रो टोलीमा एउटा सामान्य भूमिका निर्वाह गर्नेछन्।’
आयरल्यान्डले मंगलबार स्कटल्यान्ड र बिहीबार बंगलादेशसँग आधिकारिक अभ्यास खेल खेल्दैछ।
आयरल्यान्ड र दक्षिण अफ्रिका विश्वकपमा अस्ट्रेलियाको समूहमा छैन। दुई टोलीले न्युजिल्यान्डमा प्रतियोगिताको सुरुआत गर्नेछन्। दक्षिण अफ्रिकाले फेब्रुअरी १५ मा छिमेकी जिम्बावेको सामना गर्नेछ। त्यस्तै समूह ‘बी’ मा आयरल्यान्डले वेस्ट इन्डिजविरुद्ध पहिलो खेल खेल्नेछ ।