
नयाँ बसपार्कमा हुने खेलमा साबिक विजेता एपिएफले उपाधि रक्षा गर्न डायमन्डविरुद्ध दुई सेट जिते पुग्छ। डायमन्डलाई उपाधि हात पार्न शनिबार सोझो सेट वा ३–१ सेटले खेल जित्नुपर्छ।
अन्तिम खेलअघि एपिएफले १३ खेलबाट ३८ अंक र डायमन्डले ३६ अंक जोडेका छन्। एपिएफका प्रशिक्षक कपिलकिशोर श्रेष्ठ टोलीले स्वाभाविक खेल खेल्न सके सहजै उपाधि रक्षा गर्न सक्ने बताउँछन्। उनले भने, ‘हामी डायमन्डभन्दा हरेक पोजिसनमा बलियो छौं। तर टोलीले नर्भस नभएर स्वाभाविक खेल देखाउनुपर्छ।’
डायमन्डकी ओपन स्पाइकर प्रतिभा माली र कप्तान रमिला तण्डुकारको स्पाइक ब्लक गर्न सके खेल सहजै जित्ने श्रेष्ठको दाबी थियो। उनले भने, ‘हामीले मुख्य दुई स्पाइकर रोक्ने प्रयास गर्छौँ । उनीहरूको ब्लक कमजोर छ। हाम्रा पाँच जनाले स्पाइक गर्न सक्छन्। त्यसैले सुरुआतबाट हामी एट्याकिङ खेल्छौं।’
एपिएफले पहिलो चरणको लिगमा डायमन्डलाई १८–२५, २५–२०, २६–२४, २०–२५, १५–१३ ले हराएको थियो। डायमन्डका प्रशिक्षक कुमार राईले ओपन र क्विक स्पाइकरले राम्रो गरे एपिएफलाई सोझो सेटमा हराउन सक्ने बताउँछन्। उनी भन्छन्, ‘हाम्रो डिफेन्स राम्रो छ। ओपनबाट प्रतिभा, रमिला र क्विकबाट ललिता नाथले स्कोरिङ गेम खेले हामी उपाधि जित्न सक्छौं।’
शुक्रबार त्रिभुवन आर्मीले चण्डेश्वरी युवा क्लबलाई २५–१६, २५– १८, २५–७ ले हरायो। आर्मीकी रन्जना खड्का वुमन अफ द म्याच भइन्। न्यु डायमन्डले पश्चिमाञ्चललाई २५–२१, २५–१८, २५–२० ले पराजित गर्दा परीक्षा गुरुङ वुमन अफ द म्याच भइन्। नेपाल पुलिस क्लबले आयोजक ढोरपाटन स्पोर्टस टे्रनिङ सेन्टरविरुद्ध २५–८, २५–५, २५–० को विजय पायो। पुलिसकी चूडा खड्का वुमन अफ द म्याच भइन्। शुक्रबार सोझो सेटमा जित पाएपछि पुलिस एक खेलअघि लिगमा तेस्रो भयो। पुलिसलेे १३ खेलबाट २८ अंक जोड्यो। सोझो सेटमा पराजित पश्चिमाञ्चल भने चौथो हुने पक्का भएको छ। टोलीसँग २४ अंक छ।